Logo
Logo

अनाम जिन्दगी


प्रकाशचन्द्र खतिवडा

189
Shares


चराहरु नचिरविराए पछि
विहानीको शोभा बढ्दैन
गोठालाहरु गोठ फर्कदैनन
गोधुली साँझ नखसे सम्म
पुतलीहरु फूलबारी धाउँदैनन
फूल नफूले सम्म
अप्रिय छ जिन्दगीको कथा
युद्धमा मारिएका छन आमाहरु
छोरा छोरी प्रतिशोध व्यक्त गरि रहेछन
आफू अनाथ भए पछि ।

मान्छेहरु आवाजविहीन भएका छन
दमित जिन्दगी बोकेर
अप्ठेरो पहाड चढ्नलाई
प्रयत्नशील छन मान्छेहरु
बाटोमा तगारो हालेर
अवरोध हाले पनि
तगारो भाँच्दै
पहाड उक्लन्छन मान्छेहरु ।

जिन्दगी माथि घात गरिए पछि
प्रतिघात जन्मने गर्छ
दासता र दमन झेलेर
स्वाभिमान गुम्ने डर भए पछि
तिम्रो सुरक्षा घेरा भत्काएर
जाइ लाग्छन मान्छेहरु
खोशिने छ तिम्रो विराशत
खोशिने छ तिम्रो पगरी
तिम्रो कर्तुत नङ्ग्याएर
तिमीलाई घुमाइने छ चोकहरुमा
तिमी जीवनको भिख माग्ने छौ
किन दिने तिमीलाई जीवन दान ?
तिम्रो नर संहार देखे पछि ।

तिमी प्रतिगमनको सिरक ओड्छौ
हामी अग्रगमनको झ्याली बजाउँछौं
तिमी सामन्तको नेतृत्व गर्छौ
हामी सर्वहाराको नेतृत्व गर्छौ
हामी देख्न चाहान्छौ तिम्रो पतन
तिमी पतीत वस्तु जस्तै छौ
तिमीलाई गराइने छ सत्ताच्युत
स्थापना गरिने छ श्रमिकहरुको सत्ता
तिमी पश्चातापमा जल्ने छौ
हामी गाउँने छौ मुक्ति गीत ।

अनाथहरुको जुलुस निस्किएको छ सडकमा
मृत्युको वदला लिन
आमा तिमीलाई सलाम छ
तिम्रो कोखबाट
हामी जन्मेनौ दासहरु
तिमीले देखाएको वीरताको बाटो
तिम्रो बलिदान
तिम्रो निष्ठा
ढल्ने छैन प्रतिगामी सामु
हामी लक्ष्य भेदन गरि रहेछौ
तिम्रो मृत्युलाई शिरमा बोकी
अनाम जिन्दगीहरुको सुरक्षा कवच भएर ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ

प्रतिक्रिया दिनुहोस्