Logo
Logo

देउवाको किल्ला ढल्ने संकेत, भृकुटीमण्डपमा उर्लियो रूपान्तरणको भेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा आइतबार एउटा यस्तो दिन बन्यो, जसले पार्टीको भविष्यको दिशा मात्र बदल्ने संकेत गरेन, सात ७ दशक लामो राजनीतिक परम्परालाई नै चुनौती दियो ।

भृकुटीमण्डपको खुल्ला चौरमा जम्मा भएका हजारौँ कार्यकर्ता र ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले एउटै सन्देश दिएको छ– ‘अब कांग्रेस यथास्थितिमा चल्न सक्दैन।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको यो विशेष महाधिवेशन केवल प्राविधिक भेला मात्र नभएर संस्थापन पक्षको कार्यशैली विरुद्धको एउटा सुविचारित विद्रोह साबित भएको छ।

संस्थापन पक्षले यस अभियानलाई ‘अवैधानिक’ भन्दै कार्यकर्तालाई रोक्ने प्रयास नगरेको होइन। तर, विधानको धारा १७ (२) को छिद्र समातेर अघि बढेका महामन्त्रीद्वयले आइतबार साँझसम्म ६२ प्रतिशत प्रतिनिधिको समर्थन जुटाएपछि देउवा क्याम्पमा सन्नाटा छाएको छ ।

बाहिर गगन–विश्वप्रकाशको जयजयकार भइरहँदा भित्र ‘रणनीतिक पर्खाइ’को खेल पनि चलिरहेको थियो । कतिपय प्रतिनिधिहरू दिनभरि तमासा हेरेर बसेर साँझ मात्र हस्ताक्षरमा आएका थिए ।

अझै धेरै प्रतिनिधिहरू ‘पर्ख र हेर’को अवस्थामा छन्, कतिपयले डर देखिरहेका छन् । यदि विशेष महाधिवेशन असफल भयो भने देउवा पक्षले आगामी चुनावमा टिकट दिने छैनन्। तर बहुमत सुनिश्चित हुँदै गएपछि यो डर आशामा परिणत हुन थालेको छ । निर्वाचनमा टिकट नपाइएला कि भन्ने भयलाई पार्टी रूपान्तरणको हुटहुटीले जितेको देखिन्छ।

महाधिवेशन स्थलमा एउटा रोचक दृश्य देखियो । त्यहाँ केवल गगन र विश्वप्रकाशका समकालीन युवा मात्र थिएनन्, बरु परिवर्तनको पक्षमा उभिएका पाका नेताहरूको पनि बाक्लो उपस्थिति थियो ।

महाधिवेशन उपस्थित कतिपय नेताहरूले सभापति हटाउने प्रस्ताव आउन सक्ने बताउन थालेका छन् । केहीले ‘नो मोर शेरबहादुर’ समेत भन्न थालेका छन् । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री गगनले पनि नेता बदल्न सक्ने संकेत गरे । उनले विशेष महाधिवेशनले नेता बदल्न सक्ने बताए ।  उनले भने,  ‘कांग्रेसको विधानले भन्छन्, महाधिवेशनभन्दा ठूलो केही छैन, महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि महाधिवेशनले नीति बदल्छ, विधान पनि बदल्छ ।’

गगन–विश्वप्रकाशलाई चुनौती

हस्ताक्षर जुटाउनु एउटा सफलता हो, तर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनु गगन र विश्वप्रकाशका लागि ‘फलामको चिउरा’ चपाउनु सरह छ । देउवा पक्षले अझै पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर यो बहुमतलाई भत्काउन सक्ने खतरा कायमै छ ।

विद्रोही पक्षको मुख्य चुनौती अब यी हस्ताक्षरकर्ताहरूलाई अन्तिमसम्म एकताबद्ध राख्नु र वैधानिक रूपमै नेतृत्व परिवर्तनको प्रक्रियालाई पूर्णता दिनु हुनेछ।

तर, यसले कांग्रेसभित्र एउटा स्पष्ट विभाजन रेखा कोरिदिएको छ । एकातिर सत्ता र शक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने पुरानो पुस्ता छ भने अर्कोतिर वैचारिक स्पष्टता र चुनावी रणनीतिको मुद्दा बोकेको नयाँ पुस्ता ।

यदि ६२ प्रतिशतको यो ऊर्जालाई महामन्त्रीद्वयले परिणाममा बदल्न सके भने यसले कांग्रेसमा मात्र होइन, समग्र देशको राजनीतिमा नै नयाँ मानक स्थापित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्