काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन प्रक्रिया तत्काललाई रोक्न अदालतले आदेश दिएको छ ।

निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै अमित खत्रीले दायर गरेको रिटका पक्षमा न्यायाधीश कृपासुर कार्कीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
अदालतले माघ ६ गते दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ । त्यो दिन दुवै पक्ष सहभागी भएपछि एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढ्ने नबढ्ने टुङ्गो लाग्नेछ ।
त्यो अवधिसम्म यसअघिको सूचना अनुसार उम्मेदवारी दर्ता फारम बुझ्ने लगायतका निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन अदालतले भनेको हो ।
एन्फाले पुस २५ गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । एन्फाको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी २०८३ को असार ५ गतेसम्म रहेको छ ।
तर पुस १६ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतको आधारमा कार्यकाल बाँकी छँदै माघ २८ गते झापामा केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गर्ने निर्णय गरेको थियो ।
यही निर्णयका आधारमा एन्फाले जिल्लालाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ, सार्वजनिक सूचना निकालिसकेको छ र उम्मेदवारको मनोनयन फारमसमेत वितरण सुरु गरिसकेको छ।
यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन गराएर मात्र केन्द्रीय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ ।












