काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई चुनावसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

गोरखा जिल्ला फुटबल सङ्घका अमित खत्रीले दायर गरेको रिटमा न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले एन्फालाई उम्मेदवारी दर्ता र अन्य चुनावसम्बन्धी काम नगर्न आदेश दिएको हो ।
खत्रीले पुस २५ गते राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव, अध्यक्ष, एन्फा, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
अदालतले दुवै पक्षलाई छलफलका लागि आउँदो माघ ६ गते उपस्थित हुन पेशी तोकेको छ।
यसअघि एन्फाले माघ २८ गतेका लागि अग्रिम चुनावको घोषणा गर्दै तालिका सार्वजनिक गरेको थियो।












