काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

कार्यवाहक सभापति खड्काले मङ्गलवार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसमितिको बैठकबारे सूचना जारी गर्दै मुख्य सचिव पौडेलले केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मङ्गलवारका दिन बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ ।
विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियासम्म जाने गरी कार्यविधि पारित भएपछि कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसमा देखिएको समस्याका विषयमा छलफल हुने जनाएको छ ।














