Logo
Logo

राष्ट्रियसभा अध्यक्षको पद धरापमा


2.6k
Shares

काठमाडौं । अघिल्लो संसदमा केही विधेयकहरू राष्ट्रिय सभामा पुगेर अड्किएपछि कांग्रेस र एमालेले त्यहाँ आँखा लगाएका छन् । आगामी फागुन २० गते पदावधि सकिने र दलहरूमा थप हुने सांसदको संख्यालाई राख्दा राष्ट्रियसभा अध्यक्षको पदमा कांग्रेस र एमालेको आँखा परेको हो । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ताको अवस्था हेर्दा कांग्रेस, एमाले र जसपा नेपालले मात्रै निर्वाचनमा जीत हासिल गर्ने लगभग निश्चित छ ।

कांग्रेस, एमाले, नेकपा र जसपाबिच सिट बाडफाँट गरी निर्वाचनमा जाने विषयमा सहमति नजिक पुगे पनि अन्तिममा आएर नेकपासँगको सहमति टुटेपछि दुई दललाई झन् सहज भएको छ । कांग्रेस एमालेसँग सहमति नभएपछि नेकपा एक्लै निर्वाचनमा गएको छ ।

यसबाट नेकपाले ११ सिट गुमाउने र कुनै पनि सिट थप पूर्ति नहुने अवस्था देखिएको छ । यसका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि बन्ने समीकरण र माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा क्रस भोट पाएमा मात्र नेकपाको तर्फबाट अध्यक्ष बनेका नारायणप्रसाद दाहाललाई केही राहत हुनेछ । यदि कांग्रेस एमालेका सबै सांसदले जितेमा राष्ट्रियसभाको अध्यक्षमा दाहाललाई दुई तिहाइले हटाउन सक्ने गरी नतिजा आउनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा विपक्षमा ४० मत पुगेमा दुई तिहाइ पुगेको मानिने छ ।

आगामी फागुन २० पछिको अवस्थामा कांग्रेस २५, एमाले १०, जसपा ३, मनोनीत मध्ये अन्जान शाक्य र राष्ट्रिय जनमोर्चाको १ सिट मिलेमा अध्यक्षको विपक्षमा ४० पुग्नेछ । अध्यक्षको पक्षमा माओवादी केन्द्रतर्फका १० र एकीकृत समाजवादी तर्फका ७ जनाको गरी १७ मत मात्र हुनेछ । हटाउने प्रस्ताव दर्ता गरेपछि सभाको अध्यक्षता उपाध्यक्षले गर्ने भएकाले मतदानमा अध्यक्ष दाहालको मतलाई पनि जोडिने संसद् सचिवालयका अधिकारी बताउँछन् ।

जसबाट नेकपाको पक्षमा १८ मत हुनसक्ने देखिन्छ । मनोनीतबाट आउने नयाँ सदस्यले मत दिएमा दुई तिहाइले हटाउन सक्ने अवस्था छ । तर, राष्ट्रिय जनमोर्चा र जसपा नेपालको सहमति अनिवार्य हुनुपर्ने अवस्था भने छ । यसमा ठुलो राजनीतिक कसरतको आवश्यकता पर्ने विश्लेषण छ ।

सिटबाँडफाँट अनुसार हाल १६ सिट रहेको कांग्रेसका नौ सिट बढ्ने छ । फागुन २० गते कुनै पनि सदस्य नगुमाउने भएकाले कांग्रेसको सख्या २५ पुग्नेछ । राष्ट्रियसभामा अब कांग्रेस सबैभन्दा ठुलो दल बन्ने छ ।

१० सिट रहेको एमालेले आठ सिट गुमाएर दुई सिटमा रहने भए पनि गठबन्धनका कारण पुन आठ सिट पूर्ति गरी १० सिट कायम रहने छ । नेकपाभित्र माओवादी तर्फका सात घट्दै छन् भने एकीकृत समाजवादी तर्फ दुई गरी नौ सिट घट्दै छन् तर गठबन्धन नभएकाले अब बढाउनका लागि भोट क्रसबाहेक विकल्प छैन ।

राष्ट्रियसभामा ३ सिट रहेको जसपा र एक सिट रहेको लोसपाका एक–एक सिट गुम्दै छन् । दुवै मिलेर एउटै पार्टी बनेकाले गठबन्धनमा सहमति बमोजिम एक सिट मात्र प्राप्त गर्ने छन् । पहिलाको २ सिट बाँकी रहेकाले यी दुई एकीकरण गरेको पार्टीको ३ सिट कायम हुनेछ । मनोनीतबाट एक सिट गुम्दै छ त्यसमा कसलाई ल्याउने टुंगो छैन ।

हाल मनोनीतमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अन्जान शाक्य र बामदेव गौतम छन् । गौतमको आगामी फागुन २० गते पदावधि सकिन लागेको हो । गौतमको ठाउँमा वर्तमान अन्तरिम सरकारले नै जेनजीको तर्फबाट कसैलाई मनोनित गर्ने संभावना छ । राष्ट्रिय जनमोर्चाको एक सिट कायम नै छ ।

प्रतिक्रिया दिनुहोस्