
काठमाडौं । नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय कार्यसमितिको बैठक बस्ने समय सरेको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अब दिउँसो १ बजेलाई सारिएको हो । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी रहेकाले बैठक सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
जारी विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज (मंगलबार) बिहान साढे ८ बजेदेखि लाजिम्पाटमा संस्थापन र विशेष महाधिवेशन पक्षबिच वार्ता भइरहेको छ ।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरेको थियो । तर, त्यसमा असहति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । संस्थापन र इतर पक्षको विवादले कांग्रेस फुटको संघारमा पुगेको छ ।












