३० पुस, काठमाडौं । बुधबार सेयर बजारमा सानातिना सुधार देखिएको छ । नेप्से परिसूचक १.५२ अंक बढेर २६४१ अंकमा पुगेको छ।

दिनभरको कारोबार रकम भने घटेर ६ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ। १२५ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको घटेको र ११ कम्पनीको स्थिर रहेको छ।
फाइनान्स समूह सबैभन्दा बढी २.५५ प्रतिशतले बढेको छ। यसबाहेक सुपर मादी हाइड्रोपावरको मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ। थ्रीस्टार हाइड्रोपावर ८.२३, एनएमबी माइक्रोफाइनान्स ७.३४, गुडविल फाइनान्स ५.७३, मल्टिपर्पस फाइनान्स ४.८१ र मञ्जुश्री फाइनान्स ४.१७ प्रतिशतले बढेका छन्।
विकास बैंक ०.०१, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.०७, लगानी ०.११, निर्जीवन बीमा ०.३८, व्यापार ०.६७ प्रतिशतले वृद्धि भए पनि बैंकिङ ०.०८, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, माइक्रोफाइनान्स ०.०५ र अन्य ०.१३ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनियन हाइड्रोपावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स र दोर्दीखोला जलविद्युत् रहेका छन्।












