काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रचार रणनीति परिवर्तन गर्दै घरदैलो अभियानलाई केन्द्रमा राख्ने घोषणा गरेका छन् ।

ठूला-ठूला सभा आयोजना गर्ने पुरानो अभ्यास प्रभावहीन भइसकेको उल्लेख गर्दै उनले अब जनताको घरघर र टोलटोलमा पुगेर प्रत्यक्ष संवाद गर्ने नीति पार्टीले अपनाउने बताएका हुन् ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले युवा पुस्तालाई आकर्षित गर्न सूचना प्रविधिको प्रभावकारी प्रयोगमा पनि जोड दिने बताए ।
‘अब चुनावको समय जमाना अनुसार बदलिएको छ । ठूला सभा गर्नेभन्दा जनताको घरघर, टोलटोलमा पुगेर हाम्रा संकल्प र एजेन्डा प्रत्यक्ष रूपमा बुझाउनु महत्त्वपूर्ण भएको छ,’ उनले भने, ‘ठूला सभा गरेर धेरै भोट आउँछ भन्ने सोच अब पुरानो भइसकेको छ । हामीले सातै प्रदेशमा आफ्ना अपिल र एजेन्डा अघि बढाइसकेका छौं ।’











