काठमाडौं । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र दशकीय दबाब र अन्तरद्वन्द्वले अन्ततः विष्फोटक रूप लिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति असन्तुष्ट महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वैकल्पिक नेतृत्वको रूपमा गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन खोज्दा पार्टीले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीभित्र ‘पुस्तान्तरण र रूपान्तरण’को एजेन्डा लिएर देशव्यापी अभियान चलाइरहेका उनीहरूमाथि अनुशासन उल्लंघनको गम्भीर आरोप लगाइएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नीति र विधान विपरीत कार्य गरेको भन्दै महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ।
बैठकपछि नेता मीनबहादुर विश्वकर्माले तीनै पदाधिकारीलाई अनुशासनको कारबाही गरिएको जानकारी दिए। उनका अनुसार विशेष महाधिवेशनको नाममा विधान विपरीत नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको कारण यो कदम उठाइएको हो।
त्यसअघि विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिको लागि ८ बुँदे प्रस्ताव पठाएको थियो। तर, सभापति देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने र निर्वाचन तयारी सम्बन्धी केही सर्त मान्न असम्भव भएको जवाफ पठाएका थिए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पठाएको जवाफमा पाँच बुँदा मान्न सकिने तर तीन बुँदा मान्न नसकिने स्पष्ट गरिएको थियो।
खड्काले पठाएको जवाफमा सभापति देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने र निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग मान्न नसकिने उल्लेख छ ।
खड्काले जवाफ दिन आठ मिनेटको अल्टिमेटमसमेत दिएका थिए। यसपछि कांग्रेस केन्द्रीय कार्यसमितिले तीन नेतालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।
कारवाहीपछि शर्मा भने, “हामीले प्रस्तुत गरेका ८ बुँदा कुन देश वा कांग्रेसको अहितमा थिए?” भनेर प्रश्न उठाएका छन्।














