
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ ।
कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाका अनुसार गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक केहि बेरमा कुपोन्डोलको एक बैंक्वटमा बस्ने भएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले मध्यराती मात्र थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै केन्द्रीय कार्यसमिति गठन गरेको हो ।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १६६ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । योसँगै नेपाली कांग्रेस विभाजन भएको छ ।
संस्थापन सभापति शेरबहादुर देउवाको पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही भन्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ ।
अब कांग्रेसमा दुई पक्षबिच आधिकारिताको कानुनी लडाइँ सुरु हुने देखिएको छ । दुबै पक्ष आधिकारिकता खोज्दै निर्वाचन आयोगदेखि अदालतसम्म पुग्ने देखिन्छ ।











