
काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचन नजिकिँदै जाँदा देशमा ध्रुवीकरण र समीकरण बन्दै छन् । जेनजी आन्दोलनपछि १७ वटा घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ भने, रवि लामिछानेको रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समूहबीच एकता भएको छ । पूर्वउर्जामन्त्री कुलमान घिसिङले रास्वपासँग मिलेर पनि छुट्टिएका छन् । सरकार, निर्वाचन आयोग र दलहरूका गतिविधिले देशलाई निर्वाचनमय बनाउँदै लगेको छ ।
सहरदेखि गाउँसम्म, चोक–चौतारोदेखि सामाजिक सञ्जालसम्म राजनीतिक चर्चा परिचर्चाले वातावरण तताएको छ । दलहरूले घोषणापत्र लेखनको काम पनि थालिसकेका छन् । प्रमुख दलहरूको कुशासनले आजित भएका आम नागरिकमा यस पटक के हुन्छ भन्ने चासो छ । पुराना दलहरूलाई चुनौती दिने भन्दै नयाँ दलहरू पनि चुनावी मोर्चामा होमिएका छन् ।
सुशासन र विकासको सवाल
यस निर्वाचनको मुख्य मुद्दा सुशासन, आर्थिक विकास, रोजगारी, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थिरता हुन् । कांग्रेस–एमालेको गठबन्धन सरकारको दलीय सिण्डिकेट लादेर मनपरी गरेपछि जनतामा चरम निराशा छाएको थियो । त्यसपछि भ्रष्टाचार अन्तय र सुशासन कायम गर्नुपर्ने नारा दिँदै जेनजी पुस्ता आन्दोलित भएका थिए । उक्त आन्दोलनले दुई दिनमै केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनसँगै आगामी मंसिर २१ गते निर्वाचन हुन लागेको हो ।
कांग्रेस-एमालेले दलीय सिण्डिकेट लादेश देशमा कुशासन चलाएपछि जेनजी आन्दोलन भएको बिर्सेर एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा फेरि दलीय सिण्डिकेट लाद्न अग्रसर भएका छन् । कांग्रेस र एमालेले राष्ट्रिय सभामा गठबन्धन गरेर प्रतिनिधि सभामा पनि गठबन्धनको ढोका खोलेका छन् । यसले कांग्रेस र एमालेप्रति जनतामा विश्वासको संकट सिर्जना भएको देखाउँछ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग गठबन्धन नगर्न पार्टीभित्रैबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताले दबाब दिँदै आएका छन् । तर, एमाले अध्यक्ष ओलीसँग पटकपटक छलफल गर्दै आएका देउवा गठबन्धन गर्न तयार भएका छन् । कांग्रेस र एमालेले लाद्न खोजेको सिण्डिकेटले देश थप संकटमा धकेलिन सक्छ । संसद्को संख्याको आधारमा मात्रै देश चलाउन सक्ने भए कांग्रेस र एमालेको दुई तिहाईको सरकारका प्रधानमन्त्री ओली किन हेलिकप्टर चढेर भाग्नुपथ्र्यो । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना पनि दुई तिहाईको प्रधानमन्त्री निर्वाचित भएको केही महिनामै देश छाडेर भाग्नुपरेको थियो ।
नयाँ मतदाता निर्णायक
यसपटक ठूलो संख्यामा युवा मतदाता सहभागी हुँदैछन् । युवाहरुमाझ सामाजिक सञ्जालमार्फत विचार निर्माण भइरहेको छ । जसका कारण थपिएका युवा निर्णायक हुँदैछन् । यसपालि करिव १० लाख नयाँ मतदाता थपिएका छन् । २०७९ सालको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका थिए । त्यसपछि थपिएका समेत गरी कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको छ । विशेषगरी शहरी क्षेत्रका मतदाताको रोजाइमा नयाँ दल पर्न सक्ने विश्लेषण भइरहेको छ ।
सांसद बन्ने दौडमा चर्चित मेयर
चर्चित मेयरहरू कार्यकाल नसकिदै पदबाट राजीनामा दिएर आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिने भएका छन् । काठमाडौं महानगरपालिकामा मेयर बालेन साह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कार्यकाल नसकिदै मेयर छाडेर संघीय सांसद बन्ने दौडमा लागेका छन् ।
मेयर साहलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । साहले कहाँबाट चुनाव लड्ने भन्ने स्पष्ट पारेका छैनन् । एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्ने चर्चा चलेपनि उनी झापा नजाने मनस्थितिमा पुगेका छन् ।
मेयर रेणु दाहाल चितवन ३ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचन उठ्ने तयारीमा छिन् । उनी सोही निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरको दुई कार्यकाल मेयर निर्वाचित भएकी हुन् । उनले भरतपुरको विकास गरेर जनताको मन जित्न सफल भएकी छिन् । देशका ६ वटै महानगरपालिकामध्ये रेणुले भरतपुरलाई अब्बल प्रमाणित गरेकी छिन् । विकास निर्माणदेखि बेरुजु फर्छोटमा समेत भरतपुर अगाडि छ ।
गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेर धरानको मेयर जितेका हर्क साम्पाङ सुनसरीबाट उम्मेदवार बन्ने तयारीमा छन् । उनी श्रम संस्कृति पार्टी गठन गरेर अघि बढेका छन् । वैकल्पिक शक्ति आफूमात्रै भएको उनको दाबी छ । प्रधानमन्त्री बनेर धरानमा जस्तै देशभर श्रम संस्कृतिको विकास गर्ने उनको दाबी छ ।
कांग्रेस नेता को-कहाँबाट सिफारिस ?
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डेबाहेक सबै पदाधिकारीले निर्वाचन लड्ने तयारी गरेका छन् । गत निर्वाचनमा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मा र बाजुराबाट निर्वाचित सहमहामन्त्री बद्री पाण्डेले भने युवालाई अवसर दिने भन्दै आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा पुन डडेलधुरबाट चुनाव लड्ने तयारीमा छन् । देउवा २०४८ सालदेखि हालसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै आएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ । २०७९ सालमा पनि खड्काको नाम एकल सिफारिस भएको थियो । त्यही क्षेत्रमा उम्मेदवार भएर विजयी भएका थिए ।
उपसभापति धनराज गुरुङको नाम स्याङ्जा क्षेत्र नं १ र २ बाट सिफारिस भएको छ । गुरुङ २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । महामन्त्री गगन थापाको नाम भने काठमाडौं चारसहित आधा दर्जन जिल्लाबाट सिफारिस भएको छ । काठमाडौँ ४ बाट भने एकल सिफारिस भएको छ । उनी विगतमा निर्वाचित हुँदै आएको काठमाडौं ४ बाटै निर्वाचन लड्ने तयारीमा छन् ।
कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को मकवानपुर क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रमा उम्मेदवार बनेर पराजित भएकी थिइन् । अर्का सहमहामन्त्री महेन्द्र यादवको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं ४ बाट सिफारिस भएको छ । उनी २०७९ मा पनि त्यहीबाट उम्मेदवार बनी पराजित भएका थिए । सहमहामन्त्री भीष्मराज आङ्दम्बेको पाँचथर, सहमहामन्त्री जीवन परियार कास्की क्षेत्र नं १, सहमहामन्त्री किशोरसिंह राठोरको नाम बाँके क्षेत्र नं ३ बाट सिफारिस भएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोटबाट निर्वाचन लड्ने तयारी गरेका छन् भने नेता डा. शेखर कोइरालाको नाम मोरङ क्षेत्र नं ६ बाट लड्ने भएका छन् । पूर्वउपसभापति विमलेन्द्र निधिको धनुषा क्षेत्र नं ३ बाट, पूर्वमहामन्त्री प्रकाशमान सिंहको काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।
ओलीले झापा-५ नछाड्ने
एमालेले उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई समानुपातिकमा राखेको छ । अन्य पदाधिकारी भने प्रत्यक्षको निर्वाचन लड्ने तयारीमा छन् । अध्यक्ष केपी शर्मा ओलीले झापा ५ नछाड्ने भएका छन् । उनी निर्वाचनको रणनीतिमा लागिसकेका छन् ।
गत महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल काठमाडौँ ५, उपाध्यक्ष उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २, गोकर्ण विष्ट गुल्मी २, पृथ्वीसुब्बा गुरुङ लमजुङ, बाट निर्वाचन लड्ने तयारीमा छन् । महासचिव शंकर पोखरेल दाङ २ बाट निर्वाचन लड्ने तयारी गर्दैछन् । उपमहासचिव योगेश भट्टराई ताप्लेजुङ, रघुवीर महासेठ धनुषा २, लेखराज भट्ट कैलालीबाट निर्वाचन उठ्ने तयारीमा छन् । प्रदीप ज्ञवाली गुल्मी २, महेश बस्नेत भक्तपुर २, सुहाङ नेम्वाङ इलाम २, लीलानाथ श्रेष्ठ सिरहा, चक्रे मिलन गोरखाबाट निर्वाचन लड्ने तयारीमा छन् ।
प्रचण्डले रोजे पूर्वी रुकुम
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने भएका छन् । शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हुन सक्छ म आउने चुनाव रुकुमबाटै लड्न सक्छु, यही रुकुम भन्ने नठान्नु होला, पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, रुकुम पूर्वमा म आउने भनेको रुकुम पश्चिम पनि आउनु हो ।’
२०६४ देखि माओवादी केन्द्रले रुकुम पूर्वबाट निरन्तर जित्दै आएको छ । यसअघि प्रचण्डलाई रुकुम पूर्वका नेताहरू पूर्ण घर्ती, तेजबहादुर ओली, कमला रोकालगायतले भेटेर रुकुम पूर्वबाट उम्मेदवार हुन आग्रह गरेका थिए । रुकुम पूर्व जिल्ला समितिले प्रचण्डलाई उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ ।
प्रचण्ड रुकुम पूर्वका साथै कालिकोट, कास्की ३, नुवाकोट १, सिन्धुली २, रामेछाप, महोत्तरी ४, गोरखा १, रोल्पा, कैलाली ३ बाट पनि उम्मेदवार सिफारिस भएका छन् । कतै एकल र कतै उनीसहितको नाम केन्द्रमा सिफारिस भएर आएको छ । तर, नेकपाले कसैको पनि निर्वाचन क्षेत्र टुंग्याएको छैन ।
०७९ को निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पाबाट निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं १० र सिरहा ५ मा उम्मेदवारी दिएका थिए ।
त्यतिबेला उनी काठमाडौंमा पराजित भए पनि सिरहा ५ बाट निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए । नयाँ संविधान जारी भइसकेपछि एउटा व्यक्ति एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार बन्न पाउँछ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहट र वरिष्ठ नेता झलनाथ खनाल इलामबाट प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएका छन् ।
मिल्न नपाइ छुटे रवि-कुलमान
पार्टी एकताको १२ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उज्यालो नेपाल पार्टीको एकता भंग भएको छ । गत १४ पुसको पार्टी एकताको सहमति तोडिनुमा दुवैले एकअर्कालाई दोष लगाएका छन् । सहमति तोडिएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई संरक्षक बनाइएको छ ।
भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी विद्रोहको मर्मलाई आत्मसात् गर्दै आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, ‘मेरिटोक्रेसी’ को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहने जनाउँदै उनीहरूबीच सातबुँदे सहमति भएको थियो ।
सहमतिमा उज्यालो नेपालका नेताहरूले एकतापछि पार्टीका रूपमा रास्वपालाई नै स्वीकार गर्ने, चुनाव चिह्न र झन्डा पनि उसकै हुने उल्लेख थियो । तर, सहमति भंग भएपछि उज्यालो नेपाल पार्टी ‘चिम’ चुनाव चिह्नबाट निर्वाचनमा जाने भएको छ ।
घिसिङले पत्रकार सम्मेलनमा भने, ‘१२ दिन अत्यन्तै पीडादायक रह्यो । यो अवधिमा उज्यालो नेपालका सदस्य र शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ । उनीहरूले हामीलाई सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर ठाउँ ठाउँमा पार्टी प्रवेशका कार्यक्रम राखे, हामीलाई खबरै गरेनन् । हामी भने जेनजी आन्दोलनले जुन खालको नयाँ शक्ति चाहेको थियो, त्यसलाई सम्बोधन गर्न सकभर सहमति कार्यान्वयन होस् भन्नेमै थियो । उहाँहरूले भंग गर्नुभयो ।’
रास्वपाले भने कुलमानले मागमाथि माग थप्दै गएकाले पुरा गर्न नसकिएको जिकिर गरेको छ । एकता भंग भएपछि रास्वपाले भनेको छ-सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच वृहत् सहकार्यमार्फत् मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने उद्देश्यका साथ रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यका सम्भावनाहरूलाई अगाडि बढाउँदै आएको छ ।
यही परिप्रेक्ष्यमा उनेपासँग भएको सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि उनेपाबाट निरन्तर प्रस्तावहरू प्राप्त भए र शीर्ष नेतृत्व तहमा पटक-पटक बैठकहरू पनि भए । तर, सफल भइएन ।
‘नयाँ राजनीतिक शक्तिहरूको ऐतिहासिक जिम्मेवारी सत्ता-केन्द्रित अंकगणित मिलाउनु वा शक्ति बाँडफाँडको व्यवस्थापन गर्नु होइन; बरु लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिका लागि साझा प्रतिबद्धता निर्माण गर्दै जनविश्वासलाई संस्थागत गर्नु हो ।’ रास्वपाले भनेको छ ।
रास्वपाका नेता को कहाँबाट ?
रवि लामिछाने चितवन २ बाटै चुनाव लड्ने तयारीमा छन् । सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा झेलिरहेका लामिछानेलाई उक्त मुद्दा किनारा नलागेसम्म चुनाव जिते पनि संसद छिर्न कानुनी बन्देज रहनेछ । चितवन १ मा हरि ढकाल नै निर्वाचन लड्ने तयारीमा छन् ।
रास्वपा उपसभापति डिपी अर्यालले धादिङ वा चितवनबाट उम्मेदवार बन्ने तयारीमा छन् । अर्का उपसभापति स्वार्णिम वाग्ले तनहुँ नफर्किने भएका छन् । उनी गृहजिल्ला गोरखा जाने तयारी छ ।
रास्वपाबाट पूर्व एआईजी विश्वराज पोखरेल ओखलढुंगाबाट उठ्ने तयारी गरेका छन् । यसअघि रास्वपाबाट निर्वाचित शिशिर खनालले काठमाडौं ६ नछाड्ने भएका छन् । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ र ७ मा गणेश पराजुली दोहोरिन खोजेका छन् । पुकार बमले काठमाडौं १ मा उम्मेदवारी दिने तयारी गरेका छन् । डा. लेखजंग थापा रुपन्देहीबाट उम्मेदवार बन्ने टुंगो लागेको छ भने अघिल्लो पटक समानुपातिक सांसद बनेका शिव नेपालीले कास्की १ बाट उम्मेदवारी दाबी गरेका छन् ।
बालेन समूहबाट को कहाँ उठ्दैछन् ?
सामाजिक सञ्जालहरूमा झापा-५ बाट उम्मेदवारी दिने चर्चा चले पनि बालेन त्यस क्षेत्रमा नजाने भएका छन् । उनले काठमाडौंकै कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । काठमाडौंमा बालेनको घर क्षेत्र नं. २ मा पर्छ । काठमाडौंबाट उम्मेदवारी दिने अवस्था नबने महोत्तरी जिल्लालाई रोज्ने उनको तयारी छ । केपी ओलीसँग झापाको कसलाई उठाउने भन्ने टुंगोमा रास्वपा पुगिसकेको छैन ।
बालेनका स्वकीय सचिव रहेका भूपदेव शाह भने अछामबाट चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । बालेन समूहबाट रास्वपाको केन्द्रीय सदस्य बनेका पुरुषोत्तम यादवलाई मधेशकै कुनै एक जिल्लाबाट उम्मेदवार बनाउने तयारी छ । ललितपुर ३ मा कुमार बेन र ललितपुर १ मा सुरेन्द्र बजगाईंलाई उम्मेदवार बनाउने गृहकार्य भइरहेको छ । बेन र बजगाईं दुवै बालेन निकट हुन् ।
ललितपुर २ मा रास्वपाकै तर्फबाट हालका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको चर्चा चलिरहेको छ । बालेनका तर्फबाट रुपन्देही ३ बाट सन्तोष गिरी र कास्कीबाट गणेश पौडेल चुनावमा उम्मेदवारी दिन कसिएका छन् ।
डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग गत २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकालको भने निर्वाचन क्षेत्रबारे अझै टुंगो लागिसकेको छैन । उनी यसपटक रुपन्देही, गुल्मी वा स्याङ्जामध्ये कुनै एक जिल्लाबाट चुनाव लड्ने तयारीमा छन् । खगेन्द्र सुनार र लक्ष्मण थारू पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट रास्वपाकी सोबिता गौतमले चुनाव जितेकी थिइन् । तर, अहिले सो क्षेत्रमा सोबिताको छवि सन्तोषजनक नरहेको चर्चा छ ।











