
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट मुलुक र राजनीतिक दल नबन्ने ठोकुवा गरेका छन् । कांग्रेसलाई एक बनाउन नसकेको प्रसङ्गमा आफ्नो आलोचना भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘साथीहरूको चासो र चिन्तालाई म हृदयदेखि स्वागत गर्छु । त्यसप्रति मेरो आदर र सम्मान छ । एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो । यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो । यही तरिकाले अघि बढिरहँदा दुवै रेल यात्रुविहीन हुन सक्छन्। त्यसपछि मात्र बुझिन्छ । ‘सँगै हिँडौँ’ भन्ने धारणा वास्तवमा के हो । त्यस दिन पुष्टि हुनेछ । हाम्रो प्रयास स्वार्थबाट होइन, व्यक्तिगत लाभका लागि होइन, सत्य र जिम्मेवारीबाट जन्मिएको थियो।’
उनले थप भनेका छन्, ‘आज चारैतिर विकृति मात्र देखिन्छ । आज एउटा गहिरो प्रश्न उब्जिएको छ । हाम्रो नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशा नै उल्टो त परेन ? सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो ? सत्य नबुझी, जिम्मेवारी नबोकी, गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी ।’
‘आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो ? सत्य, अनुशासन र जिम्मेवारी विना न पार्टी बलियो हुन्छ, न मुलुक र न लोकतन्त्र सुरक्षित रहन्छ’, भण्डारीले भनेका छन् ।











