
काठमाडौं । भेनेजुएलाकी विपक्षी दल नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।
बिहीबार ह्वाइट हाउसमा भएको भेटमा मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेकी हुन् ।
ट्रम्प आफैले सामाजिक सञ्जालमार्फत मचाडोबाट आफूले नोबेल शान्ति पुरस्कारको पदक प्राप्त गरेको जानकारी दिएका छन् ।
‘मेरो कामको सम्मानस्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ । यो पारस्परिक सम्मानको सुन्दर संकेत हो । धन्यवाद मारिया,’ ट्रम्पले भनेका छन्।
माचाडोले पनि भेटवार्ता अत्यन्त सकारात्मक भएको बताउँदै भेनेजुएली जनताको स्वतन्त्रताप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको कदरस्वरूप आफूले पाएको पदक ट्रम्पलाई दिएको बताएकी छन् ।
ट्रम्प उक्त पदक आफैले राख्ने तयारीमा रहेको ह्वाइट हाउसका अधिकारीहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
नोबेल पुरस्कार प्रदान गर्ने नर्वेजियन नोबेल इन्स्टिच्युटले भने यसअघि नै पुरस्कार हस्तान्तरण, बाँडफाँड वा फिर्ता गर्न नमिल्ने स्पष्ट पारिसकेको छ ।
यसको अर्थ मचादोले पुरस्कारस्वरूप पाएकी सुनको पदक ट्रम्पलाई उपहार दिए पनि नोबेल शान्ति पुरस्कारको सम्मान भने उनकै नाममा कायम रहनेछ ।











