
काठमाडौं । निर्वाचन आयोगले आज १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन नजिकिँदै जाँदा आयोगले निर्वाचन अधिकृतको कार्यालय खुला गर्न लागेको हो ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय खुल्ने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । देशैभर सोही समयमा कार्यालय स्थापना हुनेछन् ।
देशैभरका सबै निर्वाचन क्षेत्रमा एकै समयमा कार्यालय खोल्दा त्यसले निर्वाचनको माहोललाई अझ विस्तार गर्ने निर्वाचन आयोगले जनाएको छ । पछिल्लो समय नेपाली कांग्रेसमा आएको विभाजनले निर्वाचन नहुने हो कि भन्ने अन्यौल सिर्जना भएको बेला आयोग भने आफ्ना काममा रफ्तारले अघि बढिरहेको छ ।











