काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई बधाई दिएकी छन् । थापालाई सम्पूर्ण कांग्रेसीजनले साथ दिने उनले उल्लेख गरेकी छन् ।

“यो देशको उन्नति गर्नुस् । तपाईंलाई सम्पूर्ण जनताले मान्ने छ । तपाईंलाई सम्पूर्ण नेपाली कांग्रेसले साथ दिनेछ । हाम्रो तपाईंलाई बधाई छ,” शनिबार (माघ ३) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा उनले भनेकी छन् ।
उनले आफूलाई पार्टी फुटेको जस्तो नलागेको बताएकी छन् । कांग्रेसलाई राम्ररी हाँक्न थापालाई उनले आग्रह गरेकी छन् । “नेपाली कांग्रेसलाई राम्ररी हाँकेर बीपीको विचार, गिरिजाबाबुको संगठनलाई नबिर्सेर तपाईं अगाडि बढ्नुस्, नेपाली कांग्रेसलाई राम्रो बनाउनुस्,” उनले भनेकी छन् ।
परिवर्तनसित डराउन नहुनेमा उनले जोड दिएकी छन् । हाल युवा, समाज, जनताले परिवर्तन चाहेको उनले बताएकी छन् । उनले भनेकी छन्, “अहिले मुलुकले परिवर्तन चाहेको छ । त्यो परिर्वतनलाई पनि हामीले स्वीकार्नुपर्छ ।”
विशेष महाधिवेशनको विपक्षमा रहेका कांग्रेसीलाई उनले नडराउन आग्रह गरेकी छन् । “पार्टी फुटेको छैन, नआत्तिनुस्, नतर्सिनुस् । दिक्क नमान्नुस् । खुसी भएर यसलाई स्वीकार्नुस् । कानुनको व्याख्या धेरै नगर्नुस्,” उनले भनेकी छन् ।
उनले पार्टीको नियमित महाधिवेशनमा सहभागी भएर नयाँ सभापति चयन गर्न सकिने बताएकी छन् । “पार्टीको अफिस त्यही हो । चारतारे झन्डा त्यहीँ छ । रुख चिह्न त्यहीँ छ । मान्छे त्यही हो । पार्टी कहाँ फुटेको छ ? किन तपाईंहरू डराएको ? फेरि अर्को चुनाव आउँदै छ,” उनले भनेकी छन् ।











