Logo
Logo

टिकट वितरणमा ओलीको एकलौटी, इतर समूहलाई पाखा लगाउने प्रयास


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा आफुविरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन् ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् ।

यसै क्रममा, ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको निर्वाचन क्षेत्रका विषयमा ओलीले आफैँ निर्णय गर्ने भएका हुन् ।

महासचिवमा पराजित सुरेन्द्र पाण्डेले कुनै पनि निर्वाचन क्षेत्रबाट टिकट पाएनन् । यद्यपि उनको नाम कुनै पनि क्षेत्रबाट सिफारिस गरिएको थिएन । विगतमा उनी चितवन १ बाट चुनाव लड्दै आएका थिए ।

यता विपक्षी खेमाबाट उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्टले गुल्मी–२ बाट टिकट पाएका छन् । तर इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकालले पनि टिकट पाएनन् । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएको थियो । त्यसमा उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए ।

ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रका सवालमा अध्यक्ष ओलीले टुंगो लगाउने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्