काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का खारेज हुनुमा ठूलो आर्थिक चलखेलको पूर्वयोजना नै कारण हो । ठेक्का हात पार्न चलखेल गर्नेले शक्ति केन्द्र र नेपाल टेलिकमका कर्मचारीहरुलाई पहिल्यै निश्चित प्रतिशत कमिशनको प्रलोभन दिएको बुझिएको छ ।

बिलिङको ठेक्का सेटिङमा हुवावेलाई दिने षड्यन्त्र टेन्डर प्रक्रिया नै रद्द भएपछि टेलिकम डुब्ने अवस्थामा पुगेको छ । टेलिकम स्रोतका अनुसार बिलिङको ठेक्कामा ठूलै गिरोह संलग्न भई टेलिकमको माथिल्लो निकायसम्मको कामकारबाही प्रभावित पारेका थिए ।
बिलिङ प्रणालीको घोटालामा अख्तियारमा फाइल पुगेको थियो । यो ठेक्का चिनियाँ कम्पनी हुवावेलाई नै दिलाउने ठूलो चलखेल चलेको थियो । हुवावेलाई नै दिन खोजिएपछि चीनबाहेकका कम्पनीले प्रतिष्पर्धामा समेत भाग लिन रुचाएनन् । कतिपय कम्पनीलाई नै प्राविधिक छनोटमै रोकिएको थियो । तर, करोडौंको चलखेलको सूचना बाहिर आएपछि ठेक्का प्रक्रिया अगाडि बढाउने जोखिम मोल्न कोही तयार भएन । विगतमा पटक पटक सूचना जारी गरी ठेक्का खोल्ने र समयावधि थप्ने काम हुँदै आएको छ ।
टेलिकममा ठेक्का अवधि सकिएपछि नयाँ ठेक्का कसैलाई नदिने र अघिल्लो कम्पनीलाई निरन्तरता दिने गतिविधि सीआरबीटीमा पनि पाइएको छ । यसमा १२ करोडको घोटाला भेटिएको विश्वस्त स्रोतले बताएको छ ।
ठेक्का सम्झौताको म्याद सकिएपछि नयाँ ठेक्का खोलेजस्तो गर्ने तर कसैलाई नदिई पुरानै कम्पनीलाई नै निरन्तरता दिएर कमिशन लिने संगिता पहाडीको शैली सीआरबीटीमा पनि पत्ता लागेको छ । एसिया इन्फोलाई अख्तियारमा पु¥याएर ठेक्कामा भाग लिन नदिने र हुवावेको एकल टेण्डर स्वीकृत गर्ने खेलमा जोजो लागेका थिए, उनीहरुमाथि छानबिन हुनुपर्छ ।
तत्कालीन प्रमुख संगीता पहाडी र अमूल प्रधानले सीआरबिटी टेन्डर लम्ब्याउँदा घोटाला गरेको तथ्य खुलेको छ । अख्तियारको मुद्दाले दुवै निलम्बनमा छन् । अहिले सविना मास्के कार्यवाहक प्रबन्ध निर्देशक छिन् नाताले अमूलको पत्नी सविनाले नयाँ टेन्डर खोल्न लगाइन् । तर, फेरि उनै सविनाले टेन्डर नै रद्द गरेको टेलिकम स्रोतले बताएको छ ।











