Logo
Logo

डिएसपी बढुवाको तयारी


4.1k
Shares

काठमाडौं । नेपाल प्रहरीले चुनावको सम्मुखमा डिआइजी, एसएसपी, एसपी र डिसपीको सरुवा गरेको छ । आचारसंहिता लाग्नपूर्व नै उनीहरुको सरुवा गरेको हो । उनीहरुको सरुवासँगै डिएसपीहरुको बढुवाको तयारी पनि थालिएको छ ।

एसएसपी र एसपी बढुवामा सन्तुलन नमिलेको भन्दै आलोचना भैरहेको बेला प्रहरी महानीरिक्षकले नायब उपरीक्षक (डिएसपी) बढुवाको तयारी गरेका छन् । निर्वाचन आयोगको सहमति लिएर उनीहरुको बढुवा तयारी गरेका हुन् । निर्वाचनमा खटिने बेला उत्साह बढ्ने भन्दै गृहमन्त्रालय र आयोगको सहमति लिएर बढुवाको तयारी थालेका हुन् । हालै ११ जना डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएसँगै संगठनमा २१ वटा डिएसपी पदमा यो बढुवा हुनेछ ।

अहिलेको डिएसपी बढुवा निकै पेचिलो बनेको छ । गृहमन्त्रीभन्दा पनि आइजीपीले नै बढुवा गर्ने भएकाले आइजीपी निवासमा भीडभाड बढेको छ । आइजीपी दानबहादुर कार्की भने बढुवापछि पूजापाठमा बढी रमाउदै गएकाले बढुवामा भेटघाट गर्न आउनेका लागि समय व्यवस्थापन गर्न सकेका छैनन ।

बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले प्रहरीभित्रै लबिङ गरेका छन् । मानवस्रोत विभागमा रहेका राजन अधिकारीको चेम्बरमा सबैभन्दा बढी लाइन लागेको छ भने त्यसपछि आइजीपी सचिवालय र निवासमा भीडभाड बढेको छ ।

रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धी रहेका छन् । उनीहरु मध्ये ६० जनाको नियमित आउजाउ हुन थालेको छ । प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा भएका समूहका चार जना र बाँकी १२४ जना २०७२ सालमा भर्ना भएको टोलीका इन्स्पेक्टर भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

सिनियारिटीको आधारमा अगाडिका पाँच जना बढुवा सूचीमा पर्ने निश्चित देखिए पनि बाँकी १६ पदका लागि १२४ जनाबीच भिडेका छन् । यसपल्ट आइजीपी कार्कीले सिनियर र कार्यसम्पादन मूल्यांकनमा अघि रहेकाहरुलाई बढुवा दिने बताइएको छ ।

प्रतिस्पर्धामा रहेका मध्ये ४० जना विभिन्न समयमा कारबाहीमा परेका थिए । उनीहरुको हकमा कार्कीले वेवास्था गरेका छन् ।

उनीहरुको बढुवा मात्र होइन यसपटक एसएसपीको सरुवामा पनि न्याय हुन नसकेको बताइएको छ । गृहमन्त्रीस्तरको निर्णयानुसार जनपद समूह तर्फका ११ एसएसपीहरुको सरुवा गरिदा न्यायोचित नभएको गुनासो गरिएको हो ।

सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् । रजौरेलाई विमानस्थल पठाइएको छ भने खड्कालाई उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ । केदार खनाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीमा सरुवा गरिएको छ । उनी कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा बिरेन्द्रनगर, सुर्खेतमा कार्यरत थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिराटनगर, मोरङमा कार्यरत दिपक पोखरेललाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ । उनी उपत्यकामा बस्न चाहेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । खड्का गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरता सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । अपराध अनुसन्धानमा अब्बल भएपनि उनलाई इन्चार्जबाट इन्जचार्ज दिइएको छैन । त्यस्तै प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई विमानस्थलमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्