काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

चुनावी माहोल बढेसँगै सेयर बजार तातेको हो । फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन हो । मुलुकको राजनीतिक सरगर्मी उत्कर्षमा पुगिरहेको बेला यसको प्रत्यक्ष र सकारात्मक प्रभाव नेप्सेमा पनि देखिएको हो । ऐतिहासिक रूपमा निर्वाचनको समयमा बजारमा तरलता बढ्ने र लगानीकर्ताहरूको मनोबल उच्च हुने अपेक्षा गरिएरै आज बजार उच्च अङ्कले बढेको हो ।
मङ्गलवार नेप्से परिसूचक ४२.२६ अङ्क बढेर २७१४.८१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अङ्क बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । आइतबार ८ अर्ब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३३९ स्टकको १ लाख १५ हजार १८१ पटकको कारोबारमा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँबराबरको २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
मङ्गलवार गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो फाइनान्सको सेयरमूल्य ५६ रुपैयाँ २० पैसा बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै,आँखु खोला जलविद्युत कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । कारोबारमा आएको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य ४.२३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत् कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।











