काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ देखिएको छ । साताको सुरुदेखि लगातार उकालो लागेको नेप्से बुधबार ९.४३ अंकले घटेर २७०५.३८ अंकमा सीमित भएको हो ।

आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने पक्का भएपछि सेयर बजारमा पछिल्ला दिनहरूमा उत्साह देखिँदै आएको छ । मंगलबार देशभर उम्मेदवारको मनोनयन दर्ता सकिएसँगै राजनीतिक अनिश्चितता घटेको संकेतका रूपमा बजारले सकारात्मक प्रतिक्रिया दिएको थियो । यद्यपि, बुधबार बजारले छोटो समयको करेक्सन लिएको हो ।
निर्वाचनपछि राजनीतिक स्थिरता आउने, सेयर बजारमैत्री सरकार बन्ने र समग्र पुँजी बजार विस्तार हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च रहेको लगानीकर्ता बताउँछन् । सेयर लगानीकर्ता ओमप्रकाश शर्माका अनुसार बजारमा आएको करेक्सन नकारात्मक होइन, बरु दिगो वृद्धिको संकेत हो ।
‘चुनावको बहानामा बजार एकोहोरो बढेको भए जोखिम हुन्थ्यो,’ शर्माले भने, ‘करेक्सनसहित अघि बढ्नु बजारका लागि स्वस्थ संकेत हो ।’
बुधबार कारोबार सुरु हुँदा नेप्से दोहोरो अंकले बढे पनि अन्त्यतिर घटेर बन्द भएको हो । यस दिन १७४ कम्पनीको सेयर मूल्य घट्दा बजार सूचक नकारात्मक बन्यो । सेन्सेटिभ इन्डेक्स पनि १।३५ अंकले घटेको छ ।
यद्यपि, ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो । नेप्सेका अनुसार कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ९ प्रतिशतसम्म वृद्धि भएको छ ।
समूहगत सूचकतर्फ अधिकांश परिसूचक घटेका छन् । बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार समूह ओरालो लागेका छन् । बुधबार अन्य समूह मात्रै ६।३४ अंकले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । बुधबार ३२४ कम्पनीका ८९ हजार ७ सय ६६ कारोबारबाट ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ ।
यो कारोबार रकम मंगलबारको तुलनामा करिब ३ अर्ब रुपैयाँले कम हो । मंगलबार नेप्सेमा करिब १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।











