Logo
Logo

विपन्न परिवारलाई निर्धन उत्थान लघुवित्तद्धारा ७ करोड २५ लाख अनुदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ कात्तिक । गरिबी निवारणको लक्षसहित स्थापित भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना अतिविपन्न ग्राहकलाई राहतस्वरुप रु ७ करोड २५ लाख सहयोग गरेको छ । कोभिड–१९ को संक्रमणबाट सिर्जित विषम परिस्थितिको कारणले संस्थाका ऋणी सदस्यहरूको व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न हुँदा सबैभन्दा विपन्न वर्गलाई साँझ बिहान खानसमेत धौधौ परेका कारण निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना विपन्न ग्राहकलाई राहतस्वरुप रकम हस्तान्तरण गरेको हो । कोभिडका कारण व्यावसाय बन्द हुँदा कतिपय ऋणी सदस्यहरू प्रभावित भएका छन् ।

उनीहरूको व्यवसाय पुनस्र्थापना गरी आर्थिक र सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले संंस्थाका १८१ शाखा कार्यालयका समस्यामा परेका तथा अतिविपन्न ७ हजार २५० ऋणी सदस्यलाई संस्थाले प्रतिऋणी सदस्य रु १० हजारका दरले रु ७ करोड २५ लाख व्यवसाय पुनस्र्थापनको लागि आर्थिक अनुदान सहयोग स्वरुप प्रदान गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए । उनले अति गरिबी विपन्न व्यक्ति र परिवारलाई आत्मविश्वास बलियो बनाउन तथा उहाँहरु र उहाँहरुले संचालन गर्नुभएको व्यवसाय बचाउने जिम्मेवारीका साथ सहयोग गरिएको र अरुहरु सबैले पनि आ–आफ्नो क्षेत्रबाट यस्तो सहयोग गर्दा कोभिडका कारण उत्पन्न परिस्थितिलाई कम गर्न सहयोग पुग्ने बताए ।

कोभिड–१९ का कारण पूर्णरूपमा व्यवसाय बन्द भएका ऋणी सदस्यहरूलाई रु १० हजारका दरले आर्थिक अनुदान सहयोग प्रदान गर्दा तत्कालको लागि लगानी योग्य पूँजीको व्यवस्था भइ ऋणी सदस्यहरूको आर्थिक अवस्थामा सुधार हुने र व्यावसाय सञ्चालन वा पुनस्र्थापनमा सहयोग पुग्नुको साथै स्थानीयस्तरमा संंस्थाप्रति सकारात्मक सन्देश जाने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले अपेक्षा गरेको छ । देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सिर्जित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ७७ वटै जिल्लामा रहेका १८१ शाखा कार्यालयमार्फत २०७७ भदौ मसान्तसम्म तीन लाख ७३ हजार ९४६ विपन्न गरीब घरधुरीमा प्रभावकारीरूपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।

गरिव वर्गलाई कर्जा र उद्यमशीलता मार्फत धनी बनाउने सपना बोकेर डा हरिहरदेव पन्तले निर्धन उत्थान लघुवित्तको स्थापना गरेका थिए । तत्पश्चात नेपालमा लघुवित्त वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको हो । सो संस्थाको यो कार्यले अरु लघुवित्तलाई पनि आफ्ना विपन्न सदस्यहरुप्रति न्याय र सहयोग गर्न अभिप्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्