
काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले फिल्डिङ गर्ने भएको हो ।
समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा पहिलो जित हासिल गर्ने दाउमा छ ।
आजको खेल पनि हारे नेपाललाई सुपर सिक्समा पुग्न कठिन हुनेछ । त्यसैले नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
उता समूह चरणमा दुई खेल जितेको नेदरल्यान्डस लगातार तेस्रो जित हासिल गर्दै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ । नेपाली टोलीले आजको खेलमा थाइल्यान्डविरुद्धको टोलीलाई नै निरन्तरता दिएको छ ।
जसमा विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट छन् ।











