
काठमाडौं । नेकपा एमालेनिकट युवा संघको दमक नगर कमिटी सचिव छाडेर बालेनलाई जिताउन भनी रास्वपामा गएका कमल गैरे २४ घन्टा नबित्दै एमालेमा नै फर्किएका छन् ।
उनले सामाजिक सञ्जालमा केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै एमालेमा नै फर्किएको उद्घोष गरेका हुन् ।
विद्यार्थी जीवनदेखि आफू एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीको सदस्य, उपसचिव सचिवको भूमिका निर्वाह गरी पार्टीको संगठित सदस्य रहेर लामो समयदेखि विभिन्न गतिविधिमा इमानदारीपूर्वक लाग्दै आएको उनले बताएका छन् ।
केही व्यक्तिको दबाब र प्रभावमा परेको भन्दै उनले एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले
आफू समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमै रहने उल्लेख गरेका छन् ।
साथै उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार समग्र राष्ट्रको विकासको राष्ट्रनायक केपी ओलीलाई जिताउन लाग्ने प्रतिवद्धता जनाएका छन् ।











