Logo
Logo

माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता र सामाजिक कार्यक्रम


252
Shares

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले मंगलबार लायन्स क्लबसँगको सहकार्यमा तादी गाउँपालिका– ५ स्थित हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल)मा अध्ययनरत विद्यार्थीलाई न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

त्यसैगरी, बुधबार बुढानीलकण्ठ नगरपालिका– ४, पासीकोट, काठमाडौंस्थित श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरिएको कम्पनीले जनाएको छ । यसका साथै दुवै विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीका लागि वित्तीय साक्षरता–सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको हो ।

कम्पनीका अनुसार यस सहयोगले विद्यार्थीको पठन–पाठनमा सहजता ल्याउनुका साथै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । त्यसैगरी, कम्प्युटर वितरण कार्यक्रमले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सीप तथा व्यावहारिक क्षमता विकासमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रेसन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्