Logo
Logo

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट सभापति गगन थापालाई आधिकारिक रूपमा आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रवार केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बैठक बसेर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो ।  

नवनिर्वाचित केन्द्रीय समितिले शुक्रवार नै केन्द्रीय कार्यालय जाने तयारी पनि गरेको छ । भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय जाने र त्यही बैठक बस्ने तयारी भइरहेको हो । 

कांग्रेसको केन्द्रिय कार्यालय हालसम्म १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नियन्त्रणमै छ । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता नदिएपछि देउवा नेतृत्वको समिति सर्वोच्च अदालत पुगेको छ । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दालाई अग्राधिकार भने दिएको छ ।  

थापा नेतृत्वको कार्यसमितिले यसअघिका बैठकहरू होटेलमै बसेर गर्दै आएको थियो । गगन थापाले आगामी फागुन २१ गतेको निर्वाचनका लागि सर्लाही- ४ बाट उम्मेदवारी दिएका छन् । विगतमा लड्दै आएको  काठमाडौं-४ लाई छोडेर सर्लाही-४ रोजेका हुन् । उनीसँग सर्लाही-४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले कडा चुनौती दिने देखिएको छ ।
 
सिंह विगतमा कांग्रेस नेता थिए । २०७९ को आम निर्वाचन उनी स्वतन्त्र उठेका थिए । जसमा उनले विजय हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्