Logo
Logo

मध्यमार्गी धार अपनाएर कांग्रेस फुट्नबाट जोगाए : शेखर कोइराला


882
Shares

मोरङ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टअगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताए ।

प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई निकास दिने बताए । छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रस्टाउँदै भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएको हो ।’

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा डिला संग्रौला) जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ ।’

जेनजी आन्दोलन अघिसम्म मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने कार्यमा लागि परेको बताउँदै उनले भने, ‘सांसद रहँदा संसद् भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहेँ । संसद् भित्र र बाहिर लडिरहेँ ।’

छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्टाए । पार्टी फुटाएर हिड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको कोइरालाको भनाइ रहेको छ । पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको काँधमा रहेको उनले बताए । 

कार्यकर्ता भेटघाटका क्रममा नेता कोइरालाले हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रित हुन जोड दिए । निर्वाचनले मुलुकलाई निकास दिने बताएका उनले यसपटक कांग्रेसलाई जिताउन सबैले एकढिक्का भएर भूमिका खेल्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्