काठमाडैं । बङ्गलादेश सरकारले आफ्नो राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा हुने आईसीसी टी-२० विश्वकप २०२६ मा सहभागी नहुने निर्णय गरेको छ । यो निर्णय बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुल र अन्तरिम सरकारका खेलकुद सल्लाहकार आशिफ नजरुलबीचको भेटपछि आएको हो ।

बीसीबीले खेलाडी, अधिकारी तथा समर्थकहरूको सुरक्षा चिन्ता उठाउँदै भारतमा खेल्न अस्वीकार गरेको छ । उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष समूह चरणका सबै खेल श्रीलङ्कामा सार्न अनुरोध गरेका थिए, तर आईसीसीले बुधवारको बोर्ड बैठकमा यो प्रस्ताव अस्वीकार गर्दै मूल तालिका कायम राख्ने निर्णय गरेको थियो ।
आईसीसीले भारतमा कुनै विश्वसनीय सुरक्षा खतरा नभएको निष्कर्ष निकालेको छ र प्रतियोगिता सुरु हुन लागेको बेला परिवर्तन गर्न नसकिने जनाएको छ । बीसीबी अध्यक्ष बुलबुलले भने, ‘हामी विश्वकप खेल्न चाहन्छौँ तर भारतमा होइन । हामी श्रीलङ्कामै खेल्न चाहन्छौँ र आईसीसीसँग फेरि सम्पर्क गर्छौँ ।’
यो विवादको सुरुवात आईपीएलमा बाङ्ग्लादेशी खेलाडी मुस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सबाट हटाइएपछि भएको थियो । विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदै छ । बङ्गलादेश समूह सीमा छ, जसमा नेपाल पनि छ । यदि बङ्गलादेशले नखेले स्कटल्यान्डले स्थान लिने सम्भावना छ, जसले नेपाललाई केही सहज बनाउन सक्छ । आईसीसीले बङ्गलादेशलाई बिहीबारसम्म अन्तिम निर्णय दिन समय दिएको थियो, तर बीसीबीले अडान कायम राखेको छ ।










