Logo
Logo

गोरु जुधाइ सकियो, अब पालो ‘साँढे’को !


504
Shares

माघे संक्रान्तिसँगै गोरु जुधाइको रौनक पनि सकिएको छ । धुलाम्मे माटोमा टेकेर सिङ ठोक्किने त्यो प्रतिस्पर्धाले मानिसलाई क्षणिक उन्माद र मनोरञ्जन दियो । गोरु जुधाइको रौनक सकिएसँगै गाउँका चौतारी, खुला मैदान र भिडभाड शान्त भएको छ ।

तर, त्यो शान्ति केवल बाहिरको दृश्य हो । देशमा अब अझ खतरनाक जुधाइ सुरु हुँदै छ– साढेहरूको जुधाइ अर्थात् सत्ताका भोका नेताहरूको टकराब । साढेहरूको जुधाइ प्रतियोगिता २१ फागुनमा छ । तर, उनीहरू अहिलेदेखि नै डुक्रिन थालेका छन् । जुरो फुलाउन थालेका छन् । सिङ तिर्खान थालेका छन् ।

गोरु जुधाइमा दुई गोरु आमनेसामने हुन्छन् । जित–हार स्पष्ट देखिन्छ । घाउ हुन्छ, रगत बग्छ, पीडा देख्न सकिन्छ । त्यो हिंसा क्षणिक हुन्छ, सीमित हुन्छ । तर नेता जुधाइमा न रगत देखिन्छ, न घाउ । यहाँ सिङ होइन, सत्ता ठोक्किन्छ । मांसपेशी होइन, अहंकार जुध्छ । मैदान होइन, सिंहदरबार नै अखडा बन्छ । र, निर्णायक होइन, सौदाबाजीले परिणाम तय गर्छ ।

गोरु जुधाइ सकिएपछि गोरु फेरि गोठ फर्किन्छ । जीवन पुरानै लयमा फर्कन्छ । तर नेता जुधाइपछि देश कहिल्यै पहिलेकै अवस्थामा फर्किँदैन । दलदल अझ गहिरिन्छ । यहाँ जित्ने-हार्ने नेताहरू हुँदैनन्, हार्ने सधैँ जनता हुन्छन् । विकासका योजना पल्टिन्छ, सुशासनका सपना घाइते हुन्छन्, लोकतन्त्र आफैँ थिलथिलो बन्छ ।

माघे संक्रान्तिको गोरु जुधाइ एउटा पर्व थियो । संस्कृतिको एक झल्को, क्षणिक उन्माद र क्षणिक रमाइलो । तर अब सुरु हुन लागेको साढे जुधाइ कुनै पर्व होइन, यो देशको भविष्यसँग खेल्ने प्रतिस्पर्धा हो । यहाँ मनोरञ्जन होइन, राष्ट्रको नियति दाउमा हुन्छ । गोरु जुधाइमा माटो रगतले रतिन्छ, नेता जुधाइमा भने देशको आत्मा नै रक्ताम्मे हुन्छ ।

पछिल्लो समय साढे जुधाइ विकृतिको उत्सव बन्दै गएको छ । यो खुला मैदानमा हुँदैन, ब्यालेट बक्सभित्र लुकेर खेलिन्छ । यहाँ नियम होइन, सत्ता कब्जाको नाङ्गो लालसा निर्णायक बन्छ । न कुनै उच्च राजनीतिक दर्शनको चर्चा हुन्छ, न लोकतान्त्रिक मूल्यको सुगन्ध नै रहन्छ । जित–हारको प्रश्न गौण हुन्छ, मुख्य प्रश्न एउटै हुन्छ- कुर्सी कसले समात्छ ?

यो साढे जुधाइमा नीति, सिद्धान्त र विचार केवल नारामा सीमित हुन्छन् । यहाँ आमनेसामने हुने कुरा ‘म नभए को?’ भन्ने दम्भ र ‘मेरो पालो कहिले?’ भन्ने कुर्सीमोह मात्र हो । जब राजनीतिमा विचारभन्दा व्यक्ति ठूलो हुन्छ, त्यहीँबाट लोकतन्त्र समाप्तिको बाटोतर्फ अघि बढ्छ ।

माघे संक्रान्तिमा गोरु जुध्दा गाउँले दर्शक हुन्छन् । तर, नेता जुध्दा जनता दर्शक हुँदैनन्, प्रत्यक्ष पीडित बन्छन् । किनकि यस जुधाइका सिङले समाज च्यातिन्छ, कानुन लतारिन्छ । यो यस्तो जुधाइ हो जहाँ कुनै विजेता हुँदैन । हार्ने सधैँ एउटा देश हुन्छ, जो प्रत्येक पटक हारिरहन्छ ।

गाउँमा गोरु जुधिसकेपछि बलियो डोरीले बाँधेर नियन्त्रणमा राखिन्छ । उन्माद बढे पनि डोरीले सीमा तोकिदिन्छ, गोठले अनुशासन सम्झाइदिन्छ । तर नेपाली राजनीतिमा ‘गठबन्धन’ नामको डोरी यति कमजोर छ कि कुन साढेले कुन बेला डोरी चुँडाएर अर्को गोठमा पस्छ, कसैले थाहा पाउँदैन । बिहान एउटै गोठमा बाँधिएका साढे साँझ अर्कै गोठमा भेटिन्छन् ।

माघे संक्रान्तिको गोरु जुधाइ हेरेर मानिस रमाउँछ, तर नेता जुधाइ हेरेर निराश हुन्छ । किनकि यहाँ खेल होइन, देशको भविष्य दाउमा छ । यहाँ मनोरञ्जन होइन, जनताको जीवन दाउमा छ । यहाँ सिङ ठोक्किँदा आवाज मात्र हुँदैन, भोलिका सम्भावनाहरू चकनाचुर हुन्छन् ।

नेता जुधाइको अखडामा आज दुईथरी साढे आमनेसामने छन् । एकातिर सत्ता जोगाउन सिङ तिखारिरहेका साढेहरू, अर्कोतिर सत्ता भत्काएर त्यसैको भग्नावशेषमा आफ्नो खोर ठड्याउन खोजिरहेका साढेहरू । सबैका सिङ एउटै दिशातर्फ तेर्सिएको छ, सिंहदरबार । तर कसैको दृष्टि खेततिर छैन, कसैको कान युवाको सुस्केरातिर छैन, कसैको संवेदना श्रमिकको पसिनातिर छैन । सबै साँढेहरू आफ्नै खोर फराकिलो बनाउने ध्याउन्नमै छन्, देशलाई चरनभूमि ठानेर ।

सिंहदरबारका साँढेहरू जुध्दा आवाज असह्य हुन्छ । प्रेस विज्ञप्तिहरू गडगडाउँछन्, धम्कीपूर्ण भाषणहरू भाषणहरू प्रतिध्वनित हुन्छन् । सडक तताउने आह्वानले सहर त्रसित हुन्छ । तर ती सबै कोलाहलभित्र गहिरो शून्यता लुकेको हुन्छ । एजेन्डा सकिएपछि सिङ ठोक्काइन्छ, विचार रित्तिएपछि गाली हतियार बन्छ, नीति हराएपछि नारा चर्काइन्छ । आजको नेता जुधाइको व्याकरण यही हो– खाली शब्द, उग्र स्वर र अर्थहीन टक्कर ।

गोरु जुधाइमा कुनै न कुनै बिन्दु आउँछ, जहाँ खेल रोकिन्छ। थाकेका सिङ छुटाइन्छन्, मैदान खाली हुन्छ । तर नेता जुधाइ कहिल्यै रोकिन्न । चुनाव नजिकिँदै जाँदा यो जुधाइ झन् उग्र, झन् अश्लील बन्छ । गठबन्धनहरू फुट्छन्, नयाँ गठबन्धनहरू रातारात जन्मिन्छन् । आजका शत्रु भोलिका मित्र बन्छन्, हिजोका ‘देशद्रोही’ आज ‘राष्ट्रवादी’ घोषित हुन्छन् । झन्डा फेरिन्छ, नारा बदलिन्छ, अनुहार बदलिन्छ । स्थिर रहन्छ त केवल कुर्सीप्रतिको अतृप्त लोभ ।

आगामी निर्वाचनको संघारमा यो साढे जुधाइ झन् निर्णायक मोडमा पुगेको छ । एकातिर दशकौँदेखि सत्ता ओगटेर बसेका ‘पुराना साढे’ छन् । जो आफ्नो विरासत, विशेषाधिकार र इतिहास जोगाउन जुधिरहेका छन् । अर्कोतिर, सामाजिक सञ्जालको वेग र नयाँ असन्तोष बोकेर आएका ‘नयाँ बाच्छाहरू’ छन् । जो पुरानालाई अखडाबाटै विस्थापित गर्न सिङ तिखारिरहेका छन् । यो भिडन्त केवल पुस्तान्तरण होइन, नेपाली राजनीतिको आगामी दिशा निर्धारण गर्ने टकराब हो ।

अब प्रश्न उठ्छ-यो साढे जुधाइ कसले रोक्ने ? उत्तर सरल छ– जनताले । गोरु जुधाइमा निर्णायक आफैँ हुन्छ । नेता जुधाइमा निर्णायक मतदाता । साढेहरूको सिङ कति तेज छ भन्ने होइन, कसको बोझ देशले बोक्न सक्छ भन्ने निर्णय अब जनताले गर्नैपर्छ ।

अहिले सिंहदरबारका साढेहरूलाई देखाइदिनुपर्ने समय आएको छ– देश खोर होइन, सत्ता सधैँको घाँस होइन, र जनता दर्शक मात्र होइनन् । गोरु जुधाइ सकियो । अब साढे जुधाइ पनि सकाउनै पर्छ । नत्र, जुधाइँदै–जुधाइँदै देश नै ढल्नेछ ।

किसानले गोरु जुधाउँदा माटो उर्वर हुन्छ भन्ने विश्वास छ । तर नेता जुध्दा देशको माटो नै बेचिने हो कि भन्ने भय दिनदिनै गहिरिँदै छ । अबको निर्वाचनमा जनताले ‘जुध्न सिपालु’ नेता होइन, ‘जोत्न सिपालु’ र ‘बाली जोगाउन सक्ने’ नेतृत्व छान्न सके मात्र यो निरन्तर चलिरहेको ‘साढे जुधाइ’को अन्त्य फागुन २१ मा सम्भव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्