Logo
Logo

छैटौं टाइगर कप : एपीएफ, आर्मी र न्यू डायमन्डको विजयी सुरुआत


0
Shares

काठमाडौं । छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला भलिबल कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

महिलातर्फको खेलमा न्यू डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित्दै सहज सुरुआत गरेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमन्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा हराउन सफल भयो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्‍यो । खेलमा आर्मीका सुनिल बोहोरा ‘प्लेयर अफ द म्याच’ बने ।

शुक्रबारको अन्तिम खेलमा एपीएफले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो । गण्डकीले तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौंथो सेटमा पुगेको थियो । तर, चौंथो सेटमा एपीएफले २५–२१ ले जित्दै सुखद् सुरुआत गर्‍यो । उक्त खेलमा एपीएफका उपेन्द्र परियार ‘प्लेयर अफ द म्याच’ बने ।

प्रतियोगिताअन्तर्गत शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहान साढे ८ बजेदेखि खेल सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ एपीएफ र थाइल्यान्ड क्विन्सबीच हुनेछ ।

पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएसनबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच हुनेछ ।

१७ माघसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । विजेता हुने टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ र विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्