काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलङ्का ए सँगको तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिवार सम्पन्न अभ्यास खेलमा नेपालले श्रीलङ्का ए टिमलाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलङ्का ए ले दिएको १३३ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ४९ रन बनाए भने आरिफ सेखले अविजित २४ र दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १९ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको श्रीलङ्का ए ले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । नेपालले यस अघिका २ खेलमा लगातार हार बेहोरेर अन्ततस् तेस्रो खेलमा जित हासिल गरेको छ ।
अब नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।











