काठमाडौं । बङ्गलादेश टी-२० विश्वकपबाट बाहिरिएको छ । भारतमा नखेल्ने अडानबाट पछि नहटेपछि आइसीसीले बङ्गलादेशलाई विश्वकपबाट बाहिर राख्दै स्कटल्याण्डलाई विश्वकपमा समावेश गरेको छ ।

आइसीसीले बुधवार बङ्गलादेशलाई दिएको २४ घण्टाको समय शुक्रवार सकिएको थियो । आइसीसीले बुधवार नै बङ्गलादेश भारत खेल्न नआएमा उसलाई विश्वकपबाट बाहिर राख्ने र उसको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरेको थियो ।
आइसीसीले आफ्नो निर्णय बारे बङ्गलादेश क्रिकेट बोर्डलाई शुक्रवारनै इमेलमार्फत जानकारी गराएको भारतीय समाचार एजेन्सी पीटिआईले उल्लेख गरेको छ ।
अब टी-२० विश्वकपमा समूह सी मा बङ्गलादेशको स्थानमा स्कटल्याण्ड आएको छ । अब स्कटल्याण्डले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने छ ।











