Logo
Logo

के पाकिस्तानले टी-२० विश्वकप बहिष्कार गर्दै छ ?


378
Shares

काठमाडौं । बङ्गलादेशले अर्को महिना हुने टी-२० विश्वकपमा भारतमा खेल्न अस्वीकार गरेपछि उसको स्थानमा अब स्कटल्याण्डले प्रतियोगितामा भाग लिने आइसीसीले आधिकारिक जानकारी दिएको छ ।

बङ्गलादेश विश्वकपबाट बाहिरिएपछि पाकिस्तानले पनि विश्वकप बहिष्कार गर्नसक्ने संकेत गरेको छ । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोसिन नक्वीले विश्वकपमा पाकिस्तानको सहभागिताको बारेमा सरकारले निर्णय गर्ने बताएर यसको संकेत गरेका हुन् । यसअघि पाकिस्तानले बङ्गलादेशले भारतमा नखेल्ने बताएको विषयमा उसको समर्थन गरेको थियो ।

टी-२० विश्वकप फेब्रुअरी ७ मा भारत र श्रीलङ्कामा सुरु हुँदै छ । पाकिस्तानका खेलहरू श्रीलङ्कामा खेलिँदै छ ।

आईसीसीले शनिवार आधिकारिक घोषणा गर्नुभन्दा केही समय अघि, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले यस मुद्दामा पाकिस्तान बङ्गलादेशको साथमा रहेको र सरकारले आईसीसी टी-२० विश्वकपमा भाग लिन पाकिस्तानी टोलीलाई पठाउने कि नपठाउने भन्ने निर्णय गर्ने बताएका थिए ।

आइसीसी टी९२० विश्वकपमा सहभागिता सम्बन्धी प्रश्नको जवाफमा शनिवार लाहोरको गद्दाफी स्टेडियममा मिडियासँग कुरा गर्दै उनले भने, ‘पाकिस्तान सरकारले हामीलाई जे गर्न आदेश दिन्छ हामी त्यही गर्नेछौं । प्रधानमन्त्री शाहबाज शरीफ अहिले पाकिस्तानमा छैनन् । उहाँ फर्किएपछि हामी तपाईँलाई अन्तिम निर्णयको बारेमा जानकारी गराउन सक्षम हुनेछौँ । हामी आईसीसी भन्दा पाकिस्तान सरकारको नियन्त्रणमा छौँ, त्यसैले हामीले सरकारले भनेको कुरा गर्नुपर्छ ।’

उनले यदि पाकिस्तान र भारत बीचको खेलको लागि हाइब्रिड प्रणाली अपनाउन सकिन्छ भने, बङ्गलादेशको लागि किन सकिँदैन भन्दै प्रश्न गरेका छन् । 

एक प्रश्नको जवाफ दिँदै उनले विश्वकप बहिष्कारको निर्णय भयो भने, आफूहरूसँग धेरै अन्य योजनाहरू रहेको बताए ।

बङ्गलादेशको आइसीसीसँगको समबन्ध बिग्रिएपछि अब उसको क्रिकेट भविष्य के हुने भन्ने पनि प्रश्न उठेका छन् । आइसीसीका प्रतियोगितामा सहभागी हुँदा आउने ठुलो धनराशीका साथै आइसीसीले बार्षिक रूपमा बङ्गलादेशलाई दिने सहयोग समेत प्रभावित हुने देखिएको छ । यसले बङ्गलादेशको क्रिकेटलाई कैयौँ वर्ष पछाडि धकेलेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्