काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार बालेन शाह (बालेन)विरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् ।
उजुरीमा स्पष्ट भनिएको छ, ‘बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने” जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन् । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको छ।’
काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका बालेनले केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापामाथि निर्वाचन प्रक्रियाविपरीत आक्षेप लगाएका थिए । ओलीसँगको पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेनले सामाजिक सञ्जालमार्फत त्यस्तो अभिव्यक्ति दिएका थिए।
निवेदनमा उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाहीको पनि माग गरिएको छ। साथै, नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरिएको पनि स्मरण गराइएको छ ।
निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महोत्तरी लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा प्रयोग गरिएको देखिएको भारतीय नम्बर प्लेटका सवारी साधनको विषयमा पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरेर आवश्यक कारबाहीको पनि माग गरिएको छ ।











