काठमाडौँ । भोलि मङ्गलवार रातिदेखि नेपालमा वर्षा र हिमपात गराउने प्रणाली सक्रिय हुने मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम तथा पर्यावरणविद् उज्जवल उपाध्यका अनुसार, यो प्रणाली भोलि बेलुकासम्म गण्डक क्षेत्रमा र पर्सि बुधबार बिहानसम्म काठमाडौँ उपत्यका आसपास आइपुग्नेछ । प्रणाली सक्रिय हुँदा काठमाडौँमा समेत वर्षा हुने सम्भावना रहेको छ ।
सबैजसो हिमाली क्षेत्रमा हिमपात हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा २ हजार मिटरभन्दा माथि भूभागमा हिमपात हुनेछ। दार्चुला, डडेल्धुरा, बझाङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला, मुस्ताङ र मनाङमा अत्यधिक हिमपात हुन सक्ने मौसमविद्ले बताए ।
तराईमा पर्सिदेखि पूर्वी क्षेत्र र पहाडमा सिन्धुलीदेखि इलामसम्मको चुरे तथा महाभारत क्षेत्रमा वर्षा हुने सम्भावना न्यून छ । बाँकी भूभागमा सामान्यदेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बिहीवारसम्म मौसम बदली रहने र त्यसपछि मात्र घाम लाग्ने संभावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको विवरणअनुसार, पश्चिमी वायुको प्रभावले देशका धेरैजसो ठाउँमा वर्षा र हिमपात हुने सम्भावना छ।











