Logo
Logo

वामपन्थी गढ भोजपुरमा माटो र घण्टीको परीक्षा, एमालेलाई फेरि पनि लाग्न सक्छ धक्का


5k
Shares

काठमाडौं । भोजपुर नेपाली राजनीतिमा केवल एउटा जिल्ला होइन, यो वामपन्थी चेतनाको ऐतिहासिक प्रयोगशाला हो । दशकौँदेखि यहाँको मतदाताले निरन्तर रूपमा कम्युनिष्ट धारलाई अनुमोदन गर्दै आएका छन् । जनयुद्ध, एकता–विभाजन, गठबन्धन र पुनर्गठन यी सबै चरण भोजपुरले नजिकबाट देखेको मात्र छैन, भोगेको पनि छ । यही कारण भोजपुरलाई ‘कम्युनिष्टको गढ’ भन्ने उपमा केवल भाषिक सजावट मात्र होइन, राजनीतिक यथार्थ हो ।

तर यही गढमा यसपटक नयाँ शक्तिहरूले ढोका ढकढक्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीजस्ता वैकल्पिक राजनीतिक शक्तिहरूको उपस्थितिले भोजपुरको चुनावलाई सामान्य प्रतिस्पर्धाभन्दा माथि उठाइदिएको छ । यसअर्थमा, यो निर्वाचन केवल सिट जित्ने/हार्ने खेल होइन, वैकल्पिक राजनीतिले वामपन्थी किल्ला भत्काउन सक्छ कि सक्दैन भन्ने परीक्षा हो ।

कुन दलबाट को उम्मेदवार ?
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

राजाराम बासीः नेपाल मजदुर किसान पार्टी
ध्रुव राईः श्रम संस्कृति पार्टी
शेरधन राईः नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जितेन्द्र राईः राष्ट्रिय परिवर्तन पार्टी
जनक नेपालः राष्ट्रिय प्रजातन्त्र पार्टी
रमेशप्रसाद ओझाः राष्ट्रिय स्वतन्त्र पार्टी
चन्द्रप्रसाद राईः मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी
अजम्वर राईः नेपाली कम्युनिष्ट पार्टी
बालकृष्ण थापाः नेपाली कांग्रेस
देवानराज राईः नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोपालकुमार राईः जनता समाजवादी पार्टी
युवराज थापाः आमजनता पार्टी

यद्यपि, यति धेरै नाममध्ये वास्तविक प्रतिस्पर्धा पाँच जनामै केन्द्रित हुने संकेत देखिन्छ– शेरधन राई, ध्रुव राई, अजम्वर राई, बालकृष्ण थापा र रमेशप्रसाद ओझा ।

वामपन्थी प्रभुत्वको निरन्तरता
भोजपुरमा नेपाली कांग्रेसका लागि निर्वाचन सधैं कठिन रहँदै आएको छ । कांग्रेसले यहाँ प्रतिनिधिसभामा झण्डा गाड्न सकेको इतिहास छैन । बरु भोजपुरबाट पराजित कांग्रेस उम्मेदवारहरू अर्को क्षेत्र खोज्दै संसद छिर्न बाध्य हुँदै आएका छन् ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेर सुदन किरातीलाई उम्मेदवार बनायो । र, उनी विजयी भए । २०७४ सालमा पनि सुदनले नै चुनाव जितेका थिए । भोजपुर एकल निर्वाचन क्षेत्र बनेयता सुदनबाहेक अरू कसैले संघीय संसदको ढोका खोल्न सकेका छैनन् ।

तर यसपटक राजनीतिक समीकरण नै फेरिएको छ । सुदन चुनावी मैदानमा छैनन् । माओवादी, एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा उनी समाहित भएनन् । बरु जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागे । रोचक त के भने सुदनकै गृह जिल्लामा उक्त पार्टीले उम्मेदवार नै उठाएन ।

अघिल्लो निर्वाचनमा सुदनसँग पराजित भएका एमालेका शेरधन राई यसपटक पुनः संघीय यात्राको प्रयासमा छन् । तर सुदन उम्मेदवार नबने पनि उनको समर्थन शेरधनलाई छैन । न त कांग्रेसका बालकृष्ण थापाले नै सुदनको सहानुभूति पाएका छन् ।बरु, सुदनले श्रम संस्कृति पार्टीका ध्रुव राईलाई समर्थन गर्ने घोषणा गरेर चुनावी गणितलाई थप पेचिलो बनाइदिएका छन् । हर्क साम्पाङ नेतृत्वको यो पार्टी पूर्वी नेपालमा विस्तारै जम्दै गएको छ । पुराना दलहरू पटकपटक परीक्षण भइसकेको निष्कर्ष निकाल्दै सुदनले ‘जेनजी आन्दोलनपछि जन्मिएको नयाँ शक्तिलाई अवसर दिनुपर्ने’ तर्क गरेका छन् ।

विगतको मतले के भन्छ ?
यसअघिको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन हुँदा तत्कालीन माओवादीका उम्मेदवार दुई हजार मतान्तरले पात्र विजयी भएका थिए ।

२०७९ सालमा सुदन किरातीले २८ हजार ५९१ मत ल्याउँदा शेरधन राई २६ हजार २०२ मतमा सीमित भए । तर त्यो जित गठबन्धनको साझा मतको परिणाम थियो । समानुपातिकतर्फ भने एमालेले सबैभन्दा बढी २२ हजार ९४० मत पाएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादी क्रमशः पछाडि थिए । रास्वपाको मत त्यतिबेला १ हजार २१८ मात्र थियो । २०७४ सालको नतिजा पनि झण्डै उस्तै थियो ।

स्थानीय तहमा कसको कहाँ प्रभुत्व ?
स्थानीय तहको निर्वाचन परिणाम हेर्दा पनि यसको राजनीतिक चरित्र स्पष्ट देखिन्छ । यहाँको सत्ता बाँडफाँट मुख्यतः परम्परागत दलहरूमै सीमित छ ।

गत स्थानीय तहको निर्वाचन परिणामअनुसार नेकपा एमालेले चार स्थानीय तहमा विजय हासिल गर्दै अग्रस्थान ओगटेको छ । त्यस्तै, नेपाली कांग्रेसले तीन स्थानीय तहमा नेतृत्व कायम राखेको छ भने तत्कालीन नेकपा (माओवादी केन्द्र) ले दुई स्थानीय तहमा जित दर्ता गरेको छ ।

कांग्रेसले भोजपुर नगरपालिका, अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ । यी पालिकामा कांग्रेसले परम्परागत मत आधार र संगठनात्मक संरचनाको बल देखाएको मानिन्छ ।

नेकपा एमालेले षडानन्द नगरपालिका, पौवादुङ्मा गाउँपालिका, सल्पा सिलिछो गाउँपालिका र हातुवागढी गाउँपालिका जित्दै जिल्लामा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व लिएको छ । यसले भोजपुरमा एमालेको संगठन कस्तो छ भन्ने प्रस्ट नै पार्छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)ले आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा विजय हासिल गरेको छ । संख्या कम भए पनि यी जितहरूले ग्रामीण क्षेत्रमा माओवादीको प्रभाव अझै पूर्ण रूपमा समाप्त भइसकेको छैन ।

एमालेलाई लाग्न सक्छ झड्का
भोजपुरको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा “हेभीवेट” उम्मेदवारको रुपमा एमालेले उठाएको शेरधन राईलाई मानिन्छ । उनी केवल एमालेको सचिव मात्र नभई कोशी प्रदेशका पहिलो मुख्यमन्त्री पनि हुन् । २५ वर्षको उमेरमै सभासद बनेका उनी केन्द्रको मन्त्री पनि बनिसकेका छन् ।

राजनीतिक रूपमा उनी अनुभवी र प्रभावशाली मानिन्छन्, तर वर्तमान चुनावी परिदृश्यले उनलाई गम्भीर चुनौतीको सामना गराइरहेको छ ।

स्थानीय तहको नतिजा हेर्दा पनि एमाले अग्रस्थानमा देखिन्छ, तर भोजपुर आदिवासी–जनजातिको थलो भएकाले पनि एमालेलाई यसपटक चुनौती देखिन्छ ।

विशेषगरी कोशी प्रदेशका किराती मतदाताबीच एमालेको छवि नकारात्मक छ । अध्यक्ष ओलीले किराती समुदायप्रति बारम्बार विवादास्पद अभिव्यक्ति दिएका कारण स्थानीय मतदातामा असन्तोष बढेको अनुमान गर्न सकिन्छ । ओलीको खुवालुङ फुटाउनेदेखि प्रदेशको नामकरणको विषयले एमालेप्रति पहिचानवादी असन्तुष्ट छन् ।

अर्कोतर्फ एमालेको आन्तरिक संरचनाले पनि शेरधनका लागि चुनौती खडा गर्न सक्छ । उनका प्रस्तावक शरण कुमार राई र समर्थक रोशन बस्नेत पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षका हुन् । यदी, शेरधन हारे “आफ्नै पार्टीका मान्छेले सहयोग नगरेको, आन्तरिक षड्यन्त्र भएको” आरोप सक्ने भएकाले मात्रै शरण र रोशन प्रस्तावक–समर्थक बसेको भन्ने पनि भोजपुर एमालेभित्र चर्चा छ ।

एमालेलाई अर्को झटका ध्रुव राई हुन् । उनी पूर्वएमाले हुन् । उनी, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पूर्वअध्यक्ष रहिसकेका छन् । जुझारु नेताको रूपमा चिनिने ध्रुव राई अहिले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका छन् ।

ध्रुव भोजपुर एमालेको इतिहासमा क्रान्तिकारी र साहसी नेता मानिन्छन्। क्याम्पसको स्ववियु सभापतिसम्म भइसकेका उनी, दोस्रो जनआन्दोलनको बेला एक्लै शाही शासनविरुद्ध सडकमा उत्रिन्थे। माइक लिएर सडकमा निस्कँदा प्रशासन, सेना र प्रहरी पनि उनलाई रोक्न नसक्ने अवस्थामा पुग्थे।

शाही शासनका दिनहरूमा तत्कालीन राजा ज्ञानेन्द्र शाह भोजपुर आएपछि लोकतन्त्रविरोधी भन्दै स्वागतमा बनाइएका गेट ध्वस्त पार्ने साहस ध्रुवले एक्लै देखाएका थिए । तर, एमालेको एघारौं महाधिवेशनमा आफूलाई अन्यायपूर्ण रूपमा प्रतिनिधि बन्नबाट रोकिएको भन्दै उनी निराश थिए ।

स्थायी कमिटी सदस्य शेरधन राईका निकट धेरै प्रतिनिधि महाधिवेशनमा पुगेका थिए । त्यसै कारण, ध्रुवको हर्कको पार्टीमा जाने निर्णय भोजपुर एमालेको लागि केवल व्यक्तिगत झटका मात्र नभई, संगठनात्मक चुनौती र मतदाताको विश्वासमा धक्का पनि मानिन्छ ।

नयाँ पार्टी उदाउने सम्भावना
भोजपुरको वर्तमान राजनीतिक परिदृश्यमा दुई नयाँ पार्टी रास्वपा र श्रम संस्कृति पार्टी उदाउन सक्ने सम्भावना छ । रास्वपाले रमेशप्रसाद ओझालाई चुनावी मैदानमा उतारेका छन् । उनी स्थानीय अधिवक्ता र पर्यटन व्यवसायी हुन् ।

पछिल्लो समय रास्वपा देशभर फैलिएको लहरले भोजपुरमा पनि आफ्नो प्रभाव पार्न सक्छ । तर यसको प्रभाव भने सहज छैन । कोशी प्रदेशमा रास्वपालाई ‘पहिचान विरोधी पार्टी’ भनेर धेरैले बुझ्ने गरेका छन् । जसले केही मतदातामा अविश्वास सिर्जना गर्न सक्ने जोखिम छ ।

यता, श्रम संस्कृति पार्टीको सम्भावना पनि कम छैन । पार्टीका उम्मेदवार ध्रुव राई यस पटक मुख्य चुनौतीको रूपमा उदाएका छन् । श्रम संस्कृति पार्टी खुलेको धेरै नभएपनि उनले भोटपुरमा पार्टी संगठनको बलियो आधार बनाइसकेका छन् । हाल ७ वटा पालिकामा पार्टीको संरचना विस्तार भइसकेको छ ।

ध्रुव राईको समर्थनमा हर्क साम्पाङ स्वयं उपस्थित भइसकेका छन्, जसले पार्टीको दृश्यता र मतदातामा प्रभावलाई थप मजबुत बनाएको छ । यसबाहेक, एमाले छाडेर यस पार्टीतर्फ लागेका नेताहरूको लर्कोले भोजपुरमा नयाँ राजनीतिक धारा निर्माण गर्ने संकेत दिएको छ ।

अझ महत्त्वपूर्ण पक्ष भनेको लोकप्रिय नेता सुदन किरातीको समर्थन हो । उनको सिफारिस र प्रभावले मतदातामा विश्वास निर्माण गर्न ठूलो भूमिका खेल्न सक्छ ।

यदि यसलाई रास्वपा र एमालेको “पहिचान विरोधी” छवि र जेनजी आन्दोलनले मागेको परिवर्तनको आकांक्षासँग जोडियो भने श्रम संस्कृति पार्टी भोजपुरमा उदाउने ठूलो सम्भावना छ ।

जातीय भोटको प्रभाव
भोजपुरको वर्तमान निर्वाचनमा जातीय आधारको भूमिका अत्यन्तै निर्णायक देखिन्छ । यहाँ अधिकांश उम्मेदवार राई समुदायका हुन् । यस परिस्थितिमा यदि मतदाताले जातीय पहिचानलाई प्राथमिकता दिए भने कांग्रेसका बालकृष्ण थापालाई स्पष्ट फाइदा पुग्ने सम्भावना छ ।

अर्कोतर्फ नयाँ राजनीतिक दलहरूले एमालेको परम्परागत मतलाई तान्ने प्रयास गरेका छन् । यदि पुराना चुनावमा कांग्रेसले पाएको समर्थन यसपटक पनि कायम रह्यो भने कांग्रेसले वामपन्थी गढमा पनि सफलता हासिल गर्न सक्छ ।

२०७९ सालको निर्वाचनमा एमालेले समानुपातिक मतमा २२,९४० मत ल्याएको थियो, कांग्रेसले १४,७७६, माओवादी १२,७५० र एकीकृत समाजवादीले ३,६९३ मत प्राप्त गरेको थियो । रास्वपाको मत केवल १,२१८ रहेको थियो ।

यदि यसपटक एमालेको मत रास्वपा र श्रम संस्कृति पार्टीतर्फ गयो भने कांग्रेसले जित्ने प्रबल सम्भावना छ । तर भोजपुरको गहिरो वामपन्थी आधारभूत संरचनालाई भत्काउनु भने सजिलो छैन ।

के छ नेकपाको सम्भावना ?
नेकपा (पूर्वमाओवादी)का उम्मेदवार अजम्बर राई पनि पूर्वएमालेका सदस्य हुन् । उनी केवल पार्टीका कार्यकर्ता मात्र होइनन्, केन्द्रीय सदस्य पनि भइसकेका अनुभवी नेता हुन् ।

२०६९ असोज ११ गते नेतृत्वप्रति असहमति जनाउँदै तत्कालीन उपाध्यक्ष अशोक राईले एमाले छोड्दा, अजम्बर राई पनि एमालेबाट अलग भएका थिए । त्यसपछि उनी संघीय समाजवादी पार्टी गठनमा उपमहासचिवका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

अजम्बर राई एक प्रखर पहिचानवादी नेता मात्र होइनन् उनी कुशल वक्ता र लेखक पनि हुन् । संघीय समाजवादी पार्टी, माओवादी केन्द्र र अन्य पार्टी फ्युजनमा संलग्न रहँदै उनी भोजपुरमा आफ्नो प्रभाव कायम राख्दै आएका छन् ।

उता, सुदनले प्रतिनिधित्व गर्दै आएको पूर्वमाओवादी धारका अजम्बर राई ‘काङमाङ’ले भने एकीकृत समाजवादी र त्यससँग सम्बद्ध मत आधारको समर्थन पाउने देखिन्छ । भोजपुरबाट एकीकृत समाजवादीले प्रदेश सांसद जितिसकेकाले प्रभाव राम्रै भएको मानिन्छ ।

भोजपुरको यो निर्वाचन रास्वपा र श्रम संस्कृति पार्टीका लागि अस्तित्वको परीक्षा हो । यदि यी दलहरूले यहाँ उल्लेख्य उपस्थिति जनाए भने त्यसले उनीहरूको राष्ट्रिय विस्तारको सम्भावनालाई बलियो सन्देश दिनेछ । तर, गहिरो जरा गाडेको वामपन्थी मत आधार चिर्न सजिलो छैन ।

अन्ततः भोजपुरको परिणामले एउटा प्रश्नको जवाफ दिनेछ- के नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरू साँच्चिकै विकल्प बन्न थालेका हुन्, कि यो असन्तोषको क्षणिक तरंग मात्र हो ?

प्रतिक्रिया दिनुहोस्