काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा बन्द भएको छ ।

बजार परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । दिनभर ३२० वटा कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बजार घटे पनि केही जलविद्युत कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । हिमालयन दोलखा हाइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावर ९.१९ प्रतिशत र कालिका पावर ८.३२ प्रतिशतले बढेका छन् । यता कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
समूहगत रूपमा विकास बैंक परिसूचक २.२३ प्रतिशत र म्यानुफ्याक्चरिङ क्षेत्र २.१२ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लागेका छन् । हाइड्रोपावर, इन्भेष्टमेन्ट र म्युचुअल फन्ड समूहका सूचकहरू पनि घटेका छन् ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि एसवाई प्यानलको ५२ करोड २९ लाख र अपर माई हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।











