Logo
Logo

राष्ट्रपतिको दशैं शुभकामनाः स्वास्थ्य सतर्कता अपनाएर मनाउन आग्रह


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ९ कात्तिक ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैँ २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न सबैसँग आह्वान गरेकी छन्।


उनले कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गर्न पनि सबैसँग आग्रह गरेकी छन्। राष्ट्रपतिले भनेकी छन् ‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ, विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोस र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछु।’

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्