काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी माओवादीले गरिब जनताको आर्थिक अवस्था सुधार गर्नुपर्ने लगायत राज्यका आर्थिक नीतिहरू समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले आज महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि पहिलोपटक निर्वाचनमा भाग लिने माओवादीले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति तथा संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल घटाउने सङ्कल्प व्यक्त गरेको छ ।
महासचिव चन्दले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ बनाउने, रोजगारी सुनिश्चित गर्ने र निजी क्षेत्रलाई मनपरी शुल्क तोक्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी उनले कृषिलाई आत्मनिर्भर बनाउने, विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी बढाउने र युवालाई यसतर्फ आकर्षित गर्ने योजनामा जोड दिएका छन्। पार्टीले व्यापार र लगानी बढाएर मुलुकको समृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरेको छ ।











