काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान सलमान आघाले टी–२० विश्वकपमा भारतविरुद्ध खेल नखेल्ने निर्णय पाकिस्तानी खेलाडीहरूको नभएको बताएका छन् ।

पाकिस्तानले टी-२० विश्वकपमा फागुन ३ (फेब्रुअरी १५) मा भारतविरुद्ध हुने खेल बहिष्कार गर्ने घोषणा गरेको छ । भारत र श्रीलङ्कामा फागुन १ (फेब्रुअरी ७) देखि आईसीसी टी-२० विश्वकप सुरु हुँदै छ ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इस्लामिक गणतन्त्र पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी हुन अनुमति दिएको छ । तर पाकिस्तान क्रिकेट टोली फागुन ३ (फेब्रुअरी १५, २०२६) मा भारतविरुद्ध तय भएको खेलमा मैदानमा उत्रने छैन ।’
लाहोरमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा सलमान अली आघासँग भारतविरुद्ध खेल नखेल्ने निर्णयबारे प्रश्न सोधिएको थियो ।
यसको जवाफमा उनले भने, ‘यो हाम्रो निर्णय होइन । यसमा हामी केही गर्न सक्दैनौँ । हाम्रो सरकार र हाम्रा चेयरम्यानले जे भन्छन्, हामीले त्यही गर्नुपर्छ । उनीहरूले जे भन्नुहुन्छ, हामी त्यही गर्छौँ ।’











