Logo
Logo

कहाँ-कहाँ भयो चुनावी तालमेल ?


378
Shares

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा देशभरका निर्वाचन क्षेत्रहरूमा राजनीतिक दलहरूबीच अनपेक्षित समीकरण र रणनीतिक तालमेलका दृश्यहरू देखिन थालेका छन् ।कतै उम्मेदवारी फिर्ता लिएर त कतै आफ्ना उम्मेदवारलाई ‘निष्क्रिय’ बनाएर दलहरूले एकअर्कालाई सघाउने बाटो रोजेका छन् ।

गोरखामा प्रलोपाको रणनीतिक मौनता र संवाद
गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यसपटक आफ्ना उम्मेदवार उठाएको छैन । तर, निर्णायक मानिएको आफ्नो मत कसलाई दिने भन्नेबारे प्रलोपा अझै अनिर्णित छ । पार्टीले जिल्ला इन्चार्ज यानप्रसाद भट्टको नेतृत्वमा तीन सदस्यीय ‘राजनीतिक संवाद समिति’ गठन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल अगाडि बढाएको छ ।

गोरखा–२ मा प्रलोपाका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनुअघि माघ ९ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए । प्रचण्ड र भट्टराईबीचको संवाद सार्वजनिक नभए पनि दुवै क्षेत्रका उम्मेदवारहरू बाबुरामको ‘सद्भाव’ पाउने दौडमा छन् ।

एमाले र प्रलोपाको ‘कर्णाली–राप्ती’ सम्झौता
निर्वाचनको सबैभन्दा ठूलो समीकरण एमाले र प्रलोपाबीच कर्णाली प्रदेशमा देखिएको छ । माघ ११ गते भएको सहमति अनुसार रूकुम पश्चिममा एमालेका नन्दराम देवकोटा र रूकुम पूर्वमा लिलामणि गौतमको उम्मेदवारी निष्क्रिय पारिएको छ । अब यी क्षेत्रमा एमालेले प्रलोपाका जनार्दन शर्मा र सन्दिप पुनलाई सघाउनेछ ।

यसको बदलामा प्रलोपाले हुम्ला र जुम्ला बाहेकका कर्णालीका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमाले उम्मेदवारहरूलाई मतदान गर्नेछ । रूकुम पश्चिममा कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाही चुनावी मैदानमा हुँदा एमाले–प्रलोपा गठबन्धनले नयाँ चुनौती थपेको छ ।

बागलुङमा जनमोर्चा र नेकपाको सहकार्य
बागलुङमा भने चित्र अर्कै देखिएको छ । त्यहाँ राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीले मित्रवत तालमेल गरेका छन् । सहमति अनुसार क्षेत्र नं. १ मा जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नं. २ मा नेकपाका ज्ञाननाथ गैरे साझा उम्मेदवारका रूपमा अघि सारिएका छन् । २०७९ को निर्वाचनमा त्यहाँबाट विजयी भएका चित्रबहादुर केसी यसपटक समानुपातिकमा छन् भने देवेन्द्र पौडेल नवलपरासी झरेका छन् ।

मनाङमा उम्मेदवारको ‘खडेरी’
हिमाली जिल्ला मनाङमा भने एमाले, राप्रपा र रास्वपा तीनै दल उम्मेदवारविहीन बनेका छन् । एमालेका पोल्देन छोपाङ र राप्रपाका कुविरसिंहले उम्मेदवारी फिर्ता लिएपछि अब त्यहाँ कांग्रेसका टेकबहादुर गुरुङ, नेकपाकी यशोदा सुवेदी र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेबीच मात्र प्रतिस्पर्धा हुनेछ । १६५ क्षेत्रमा उम्मेदवार उठाउने दाबी गरेको रास्वपाका उम्मेदवार अनिल गुरुङ समयमै नपुग्दा त्यहाँ रास्वपाको समेत उपस्थिति रहेन ।

श्रम संस्कृति र अन्य साना दलको प्रभाव
प्रलोपा नेता सुदन किरातीले सुनसरी–१ मा हर्क साम्पाङ र भोजपुरमा ध्रुवराज राईलाई समर्थन गरेका छन् । भोजपुरमा किरातीले अघिल्लो निर्वाचनमा एमालेका शेरधन राईलाई पराजित गरे पनि यसपटक उनी आफै मैदानमा छैनन् ।
यद्यपि, यो समर्थनको बदलामा श्रम संस्कृति पार्टीले प्रलोपालाई कहाँ सघाउँछ भन्ने अझै खुलेको छैन ।

यता रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाले प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिएपछि त्यहाँको ५,६०० मत तान्न अन्य दलहरूले कसरत गरिरहेका छन् । राप्रपाले हालसम्म कसैलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छैन । यद्यपी झापाका ५ र ३ नम्बर क्षेत्रमा एमाले र राप्रपाबीच अनौपचारिक संवाद चलिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्