
काठमाडौं । मधेश केन्द्रित राजनीतिमा यसपटक एउटा ठूलो ध्रुवीकरण देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुरको लोसपाबीचको एकतासँगै अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीका दलहरूले साझा चुनावी चिह्न ‘जाँतो’ (चकिया) प्रयोग गर्ने सहमति गरेपछि मधेशमा दलहरूको संख्यात्मक उपस्थिति निकै पातलिएको छ ।
यसैबीच, अशोक राई चुनावी प्रतिस्पर्धामा छैनन् र रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । यसले अब मधेशको राजनीतिक मैदानमा मुख्य तीन पात्र– उपेन्द्र यादव, डा. सीके राउत र राजेन्द्र महतोको मात्र वर्चस्व देखिएको छ । अर्कोतर्फ, वृषेशचन्द्र लाल र हृदयेश त्रिपाठी जस्ता नेताका दलहरू पनि अन्ततः जसपा नेपालमै समाहित भएका छन् ।
राजनीतिक परिदृश्यमा अर्को हलचल डा. सीके राउतको जनमत पार्टीमा आएको विभाजनले ल्याएको छ । सो पार्टी फुटेर अहिले ५ वटा फरक समूह बनेका छन् । जनमत पार्टीबाटै सत्ताको बागडोर सम्हालेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, पूर्वप्रवक्ता शरदसिंह यादव, पूर्वउपाध्यक्ष दीपककुमार साह र रियाज अहमद शेषले छुट्टाछुट्टै पार्टी गठन गरेका छन् ।
रोचक त के छ भने हिजोका सहयात्री सिंह र यादवले नै अहिले सप्तरी-२ मा आफ्नै पूर्वअध्यक्ष राउतलाई चुनौती दिइरहेका छन् । यता उपेन्द्र यादवबाट बाहिरिएका अशोक यादव पनि जनता लोकतान्त्रिक पार्टीमार्फत कपिलवस्तु–३ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन आयोगमा धेरै मधेशी दल दर्ता भए पनि कतिपय शीर्ष नेताहरूले अस्तित्व जोगाउन अन्य स्थापित दलको सहारा लिएका छन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा कांग्रेसबाट, सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साह रास्वपाबाट र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी जसपा नेपालको चिह्नबाट चुनाव लड्दैछन् । यसले मधेशी राजनीतिमा बदलिँदो शक्तिको सन्तुलनलाई संकेत गर्छ । यस्तै, किशोरकुमार विश्वास पनि समावेशी–समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् ।
निर्वाचन क्षेत्र फेरिरहने उपेन्द्र यादव यसपटक सप्तरी–३ बाट आफ्नो भाग्य परीक्षण गर्दैछन् । मधेश आन्दोलनपछि संविधानसभाका दुवै निर्वाचन उनले सुनसरी–५ र मोरङ–५ बाट लडेका थिए । पहिलो संविधनसभामा दुवै निर्वाचन क्षेत्रबाट जितेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने मोरङ–५ बाट पराजित भए, सुनसरी–५ बाट निर्वाचित भए ।
२०७४ को आम निर्वाचनमा सप्तरी–२ बाट जितेका उपेन्द्र, त्यहीँ २०७९ मा डा. सीके राउतसँग हारे । त्यसपछि २०८० को उपनिर्वाचनमा बारा–२ बाट जिते । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यो निर्वाचन क्षेत्र रिक्त भएको थियो । तर यसपटक भने सप्तरी–३ मा उनलाई कांग्रेसका दिनेशकुमार यादव, एमालेका ताराकान्त चौधरी र जनमतका सुरेन्द्र प्रसाद शर्माले कडा टक्कर दिने देखिएको छ ।
त्यस्तै, सप्तरी–२ मा डा. सीके राउतलाई आफ्नै पूर्वसहकर्मी सतिशकुमार सिंह, शरदसिंह यादव र पुराना ठूला दलका उम्मेदवारहरूको घेराबन्दी छ । एमालेका मोहम्मद रहमान, जसपाका उमेश यादव, नेकपाका सूर्यनाथप्रसाद यादव र कांग्रेसका रामकुमार यादव त्यहाँ परम्परागत दलका प्रतिस्पर्धी उम्मेदवार हुन् । रास्वपाका रामजी यादवलाई पनि प्रतिस्पर्धी मानिएको छ । गत निर्वाचनमा यहाँ राउतले दोब्बर बढी मतले उपेन्द्र यादवलाई पराजित गरेका थिए ।
यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा राउतले ३५ हजार ४२ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरको ७ हजार ३ सय ४७ मत थियो । चौथों स्थानमा रहेका रास्वपा उम्मेदवार बरुणकुमार झाले भने २८१ मत मात्र प्राप्त गरेका थिए ।
यता, सर्लाही–२ मा राजेन्द्र महतो र पुराना हस्ती महेन्द्र राय यादवबीच पुनः भिडन्त हुँदैछ । यादवले यो क्षेत्रबाट २०५१ साल यताका सबै जसो निर्वाचन जितेका छन् । उनी कहिले एमाले, कहिले राजपा र कहिले माओवादीबाट निर्वाचित भएका हुन् । यसपटक उनी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छन् ।
सर्लाही–२ मा महेन्द्र राय यादवको व्यक्तिगत प्रभाव धेरै बलियो छ । बारम्बार पार्टी फेरेका यादव जुन पार्टीबाट उम्मेदवार बने पनि जित्ने गरेका छन् । गत चुनावमा पनि यादवका निकटतम प्रतिस्पर्धी महतो नै थिए । यादवले २३ हजार ५ सय २९ मत प्राप्त गर्दा महतो २१ हजार ५ सय १८ मतमा समेटिए ।
यसपटक कांग्रेसबाट डा. सरोजकुमार यादव उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि लहर चलेको छ । रास्वपाका रविन महतो उम्मेदवार छन् । डा. अमरेशकुमार सिंहको प्रवेशपछि सर्लाहीका सबै क्षेत्रमा पहिलेको तुलनामा रास्वपाको लहर बढेको छ । जसले त्यहाँको परम्परागत चुनावी नतिजालाई उथलपुथल पार्ने सम्भावना बलियो देखिन्छ ।











