सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ थारू समुदायको बाहुल्य क्षेत्रका रूपमा चिनिन्छ ।

यहाँ प्रायः थारू समुदायका प्रभावशाली नेताहरूबीच नै चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक पनि अपवाद छैन । पुराना र चर्चित दुई थारू नेताबीच चौथोपटक प्रत्यक्ष भिडन्त हुँदैछ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । उनको सामना गर्न नेकपा एमालेले थारू समुदायकी नेतृ भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । गच्छदार र चौधरीबीचको यो प्रतिस्पर्धा चौथोपटक हो । यद्यपि यस क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएका छन्, तर मुख्य प्रतिस्पर्धा यी दुईबीच नै हुने आकलन गरिएको छ।
अन्य उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट अशोक चौधरी, नेकपा बाट दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालबाट किशोरकुमार विश्वास तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट घनश्याम गुरुङ रहेका छन् ।
२०४८ सालदेखि २०७४ सालसम्म यस क्षेत्रमा एकछत्र प्रभाव जमाएका गच्छदार २०७९ सालको संसदीय निर्वाचनमा भने पराजित भएका थिए । तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै भगवती चौधरीले सो चुनावमा करिब पाँच हजार मतको अन्तरले जित हात पारेकी थिइन् । तर जेन-जी आन्दोलनपछि संसद् विघटन हुँदा उनले पूरा कार्यकाल काम गर्ने अवसर पाइनन् । यसपटक चौधरी जित दोहोर्याउने प्रयासमा छिन् भने गच्छदार गुमेको विरासत फर्काउने अभियानमा छन् ।
१२ पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत भइसकेका गच्छदारले आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात र कृषिमा ठूलो योगदान दिएको दाबी गर्दै आएका छन् । उनी यिनै विषयलाई केन्द्रमा राख्दै विकासका प्रतिबद्धता दोहोर्याउँदै मतदाताको घरदैलोमा पुगेका छन् । तर स्थानीय मतदाताहरू भने प्रभावशाली नेता जिताएर पठाउँदा पनि अपेक्षित विकास नभएको गुनासो गर्छन् ।
बर्जु गाउँपालिकाका स्थानीय खड्ग उरावका अनुसार गच्छदारले यही क्षेत्रबाट पटक-पटक जितेर मन्त्री र उपप्रधानमन्त्री भए, मान–सम्मान पनि कमाए । तर जनतासँग गरेका धेरै प्रतिबद्धता पूरा नभएको उनी बताउँछन् । ‘सडक सञ्जालको अवस्था नाजुक छ, सामुदायिक विद्यालयहरू बेहाल अवस्थामा छन्,’ उराव भन्छन् । सुनसरी-मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहर विस्तार भए पनि किसानले सहज रूपमा पानी, मल र बीउ पाउन नसकेको उनको गुनासो छ । उर्वर भूमिमा धान, मकै, गहुँ र आलु उत्पादनको ठूलो सम्भावना भए पनि दीर्घकालीन कृषि योजनाको अभाव रहेको स्थानीयको भनाइ छ ।
राजनीतिक यात्रामा गच्छदारले कांग्रेस छाडेर मधेशी जनाधिकार फोरमको नेतृत्व गरे । २०७० मा फोरम विभाजन भएपछि उनी लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने र सोही पार्टीबाट चुनाव जिते। २०७४ मा भने उनी पुनः कांग्रेसमै फर्किए । त्यस चुनावमा पनि उनको प्रतिद्वन्द्वी भगवती चौधरी नै थिइन्, जहाँ गच्छदारले झिनो मतान्तरले जित निकालेका थिए ।
२०७९ को निर्वाचनमा भने चौधरीले गच्छदारको कमजोरीलाई सदुपयोग गर्दै चौथो प्रयासमा जित हात पारिन् । आफूले पूरा कार्यकाल काम गर्न नपाएकै कारण मतदाताको अपेक्षाअनुसार विकास निर्माण गर्न नसकेको उनको भनाइ छ ।
यस क्षेत्रको विकास र स्थायित्वका लागि पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका विषयलाई सरकारी योजनामा समेट्न सफल भएको दाबी भगवती चौधरीको छ ।











