Logo
Logo

यस्ता छन् जवान–हवल्दारका १० समस्या, सुविधा बढाउने प्रहरी प्रधान कार्यालयको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ कात्तिक
नेपाल प्रहरीका कार्यरत प्रहरी जवान र हवल्दारहरूले विदा नपाएकोदेखि हाकिमहरुको दुव्र्यवहार भोग्नुपरेको गुनासो गरेका छन् । नेपाल प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरुले मुख्यगरी १० वटा समस्या बताएका छन् । उनीहरुका समस्या समाधानका लागि प्रहरी प्रधान कार्यालयले छलफल अघि बढाएको छ ।

तल्लो तहमा कार्यरत प्रहरीको समस्या बुझ्न नेपाल प्रहरीले ९ महिना लगाएर स्थलगत रुपमै अध्ययन गरेको थियो । तल्लो तहका प्रहरीले जागिर छाड्ने क्रम अत्याधिक बढेपछि राजिनामा रोेकर उनीहरुको मनोबल बढाउने उदेश्यले यस्तो सर्वेक्षण गरेको थियो । ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन’ गत बिहीबार सार्वजनिक गरिएको हो । प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठ वटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदा समेत नपाएको उनीहरुको गुनासो छ । बिदा नपाउन परिवार भेट्न समेत नपाएको उनीहरुको दुःखसो छ । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैरपरी आउने बिदा पाउने उल्लेख छ । तर, थोरै प्रहरीले मात्र नियममै भएको यो विदाको सदुपयोग गर्न पाउनेगर्दछन् । कामको अत्याधिक चाप हुने तर जनशक्ति कम हुने भएकाले अत्यावश्यक अवस्थामा बाहेक प्रहरीले विरलै विदा पाउने गरेका छन् । यस्तो समस्या समाधानका लागि काम सुरु भइसकेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । ‘अब सबै प्रहरीले नियमअनुसारको विदा पाउनेछन्,’ उनले भने,‘यसका लागि सफ्टवेयरमार्फत निगरानी गरिन्छ, कसले कति दिन बिदा पाए भन्ने प्रष्ट हुन्छ ।’

दोस्रो नम्बरमा डिउटीको समयको धेरै भएको जवान तथा हवल्दारले बताएका छन् । दिनमा १८ घन्टासम्म डिउटी गर्नुपरेको भन्दै डिउटी अवधि ८÷१० घन्टा बनाउनुपर्ने उनीहरुको सुझाव छ । खासगरी उपत्यका र तराईका जिल्लामा कार्यरत प्रहरीले ‘ओभरडिउटी’को गुनासो आएको प्रहरी प्रवक्ता कडायतले बताए ।

तेस्रो गुनोसा सरुवा–बढुवा सम्बन्धि छ । ढिला बढुवा नहुने र बढुवा पारदर्शी समेत नहुने गरेको उनीहरुको अनुभव छ ।
हाकिमहरुबाट राम्रो व्यवहार नहुने गरेको धेरै प्रहरी साझा गुनासो छ । हेप्ने गरेको र बोल्दा राम्रा शब्द समेत प्रयोग नहुने गरेको बताएका छन् । यस्तो समस्या समाधान गर्न हालै आचारसंहिता जारी गरिएको तल्लो तहका प्रहरीलाई राम्रो व्यवहार नगर्ने प्रहरीका हाकिमलाई कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यूनिफर्म लगायत स्केलका सामान पर्याप्त नभएको, लामो समयसम्म रासनभत्ता वृद्धि नभएको, घरपायक सरुवा नपाएको तथा विदेश तालिम तथा राष्ट्रसंघीय मिसनमा अवसर नपाएको उनीहरुले बताएका छन् । विदेश तालिममा अधिकृत तहका प्रहरीलाई मात्र पठाउने गरिएको छ । आफुहरुलाई पनि समानुपातिक रुपमा विदेश तालिममा पठाउनुपर्ने माग उनीहरले गरेका छन् । त्यस्तै कतिपय प्रहरीले तलबले नपुगेर ऋण लागेको तथा कल्याणकारी योजना बढाउनपर्ने माग गरेका छन् । सोही सुझावका आधारमा हालै प्रहरी प्रधान कार्यालयले जवान र सिपाहीका लागि कल्याणकोषमार्फत सहुलियत घर कर्जाको कार्यक्रम ल्याएको छ ।

‘कतिपय समस्याहरु प्रहरीले आन्तरिक रुपमै समाधान गर्न सक्ने किमिसका छन्, त्यसमा सुधारको काम सुरु भइसकेको छ,’ प्रवक्ता कडायतले भने,‘कतिय समस्या सरकारले नै हेर्नुपर्ने किमिसका छन् ।’ यो सर्वेक्षणमा जागिर छाडेका प्रहरीको भनाई समेत समेटिएको प्रवक्ता कडायत बताउँछन् । त्यस्तै अन्य देशको प्रहरीको बारेमा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘सिपाही हवल्दारको मनोबल बढाउन सकियो भयो प्रहरीका लागि मात्र होइन, राज्यकै लागि ठूलो उपलब्धि हुनेछ,’ प्रवक्ता कडायत भन्छन्,‘यसले अहिलेसम्म जागिर छाड्ने क्रम पनि रोकिने हाम्रो अपेक्षा छ ।’

यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बिहीबार सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले बताए । आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै महानिरीक्षक उनले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । यस्ता अनुसन्धानका कार्यहरु भएको उल्लेख गर्दै अब बनाईने कार्ययोजना तथा नीतिहरुलाई कार्यान्वयनमा ल्याईने उनको भनाई छ । प्रहरीको योजना तथा विकास निर्देशनालयले ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको थियो । करिब चार हजार तीन सय प्रहरीमाझ सर्वेक्षण गरिएको थियो ।

पछिल्लो तीन वर्षमा सात हजार सात सय १४ प्रहरीले राजिनामा दिएका छन् । सुविधा थोरै र डिउटी धेरै र समयमा बढुवा समेत नहुने गरेकाले राजिनामा दिनुपरेको धेरै प्रहरीको गुनासो छ । ७९ हजार ५ सय ४३ जनशक्ति रहेको नेपाल प्रहरीमा ७६.८२ प्रतिशत जवान–हवल्दारको दरबन्दी छ । जवानको ४६ हजार दुई सय १९ तथा हवल्दारको १४ हजार ८ सय ८९ जनशक्ति छ । तर, सुविधा कम हुँदा जवान हवल्दारको मनाबेल बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्