Logo
Logo

कोरोनाबाट पूर्व सांसदको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ कात्तिक।
नेकपाका नेता एवं संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका– ४ जगतपुरनिवासी ६२ वर्षीय चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो सवा एक बजे मृत्यु भएको हो ।

ज्वरोबाट पीडित चौधरीलाई श्वास–प्रश्वासमा कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । कोसी अस्पतालमा २७ असोजमा गरिएको पिसिआर परिक्षणमा आइतबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दासमेत सास फेर्न गाह्रो भएपछि गत २ कात्तिकमा थप उपचारका लागि उनलाई बिपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गर्दा भोलिपल्ट रिपोर्ट पजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताका अनुसार मंगलबार चौधरीको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्