काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।

राष्ट्र बैङ्कका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८/१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९/१ प्रतिशत र अमेरिकी डलरमा ३२/३ प्रतिशतले वृद्धि भएको छ। चालु आवको पुस महिनामा मात्रै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।
त्यसैगरी विदेश व्यापारतर्फ निर्यात ४३/८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४/२ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ र राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
६ महिनामा भित्रियो साढे १० खर्ब रेमिटेन्स
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुससम्म)मा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ३९.१ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ६ महिनामा रेमिटेन्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैङ्कको मासिक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । गत पुससम्ममा अमेरिकी डलरमा रेमिटेन्स ३२.३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
गएको ६ महिनामा २ लाख ६ हजार ८ सय ७ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ९४ हजार ७ सय ३३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ लाख ३० हजार ४ सय ३९ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ६२ हजार ६ सय २८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब नाघ्यो
गत पुस मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब साढे ३२ खर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा यो २१.१ प्रतिशतको वृद्धि हो । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति पुससम्म बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो । त्यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति पुस मसान्तसम्म २२ अर्ब ४७ करोड पुगेको छ । गत असारको तुलनामा यो १५.२ प्रतिशतको वृद्धि हो । २०८२ असार मसान्तमा यस्तो सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड थियो । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैङ्कको छ । यस वर्ष राष्ट्र बैङ्कले ७ महिनालाई आयात धान्न पुग्ने बराबर विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य तय गरेको थियो ।











