Logo
Logo

शीर्ष नेताहरूको चुनावी चुनौती


5.9k
Shares

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुराना दलका शीर्ष नेता र नयाँ दलका उदयमान नेताहरूबिच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । संसदीय राजनीतिका ठुला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले)सँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नयाँ दलका नेताहरूबीचको प्रतिस्पर्धाले निर्वाचनलाई रोचक बनाउँदै लगेको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दल र उम्मेदवारहरूको संख्याले यसपटकको चुनावलाई विगतको भन्दा फरक बनाएको छ । धेरै दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले ठूला दलको मत विभाजन हुने सम्भावना रहेको छ । जसले गर्दा कुनै एक दलको बहुमत आउने सम्भावना देखिँदैन ।

जेनजी विद्रोहले ल्याएको निर्वाचनको वातावरणलाई आफ्नो पक्षमा तान्न धेरैले स्वतन्त्र उम्मेदवारी दिए पनि युवा पंक्तिमा रास्वपाको आकर्षण बढ्दो छ । रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले जेनजीको माग सम्बोधन गर्लान् भन्ने विश्वासले पनि रास्वपाको ‘क्रेज’ बढेको हो । जसले गर्दा देशैभर कांग्रेस, एमाले र नेकपालाई रास्वपा चुनौती बन्ने देखिन्छ ।

त्यसमाथि झापा ५ बाट बालेनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकाले ओली गल्न थालेका छन् । झापामा बालेनको माहौल देखेपछि ओलीमा छटपटी बढेको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले जेनजी विद्रोहमाथि दमन नगरेको र १९ जना बालबालिकाको हत्या नगरेको प्रचार गरेर रक्षात्मक अवस्थामा पुगेका छन् ।

विगतमा राप्रपासँग सहकार्य गर्दै आएका ओलीलाई यसपटक राप्रपाले साथ नदिने भएपछि उनले काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरूबिच आइतबार साँझ निर्वाचन केन्द्रित छलफल भएको थियो । त्यसअघि ओलीले नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई फोन गरेर सहकार्य गर्न आग्रह गरेको कुरा बाहिरिएको छ । यसबाट पनि ओलीको पराजित मानसिकता बुझ्न सकिन्छ ।

जेनजी विद्रोहका कारण ओली मात्र होइन, सिंगो एमाले उम्मेदवारहरू युवाहरूको तारो बनेका छन् । यसरी हेर्दा फागुन २१ को निर्वाचन पुराना र नयाँ राजनीतिक शक्तिबीचको कडा प्रतिस्पर्धाको रूपमा देखिएको छ ।


नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा क्षेत्र नम्बर ५ मा यसपटक काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र साह (बालेन)को उपस्थितिले चुनावी माहौल तातिएको छ । निरन्तर जित्दै आएका ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रूपमा अघि सारेका बालेन प्रतिस्पर्धामा उत्रिएपछि कडा चुनौती थपिएको छ । जेनजी आन्दोलन दबाएको आरोपमा ओली सयपटक चुनावी प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।

२०६४ सालको संविधान सभा निर्वाचनबाहेक सबै चुनावमा सहज जित हासिल गरेका ओलीका लागि यसपटक अवस्था सहज छैन । बालेनको उपस्थितिले मात्र होइन, एमालेभित्र देखिएको आन्तरिक असन्तुष्टि पनि ओलीका लागि अर्को चुनौती बनेको छ । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेताहरू खुलेर बोल्ने आँट नगरेपनि ओलीका लागि बालेन पहाड बराबर चुनौती बनेका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापामा पठाएकोलाई पार्टीले ‘गौरवको विषय’ भनेको छ । उता एमाले नेतृत्व भने आफ्नो संगठन बलियो रहेको दाबी गर्दै बालेनको आगमनले परिणाममा खास असर नपर्ने दाबी गर्दै आएको छ ।

विगतमा ओलीलाई माओवादीका विश्वदीप लिङदेनले पराजित गरेका थिए । तत्कालीन माओवादीबाट ओलीलाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा उदाएका लिङदेन गुमनाम छन् । यसपटक झापा–५ मा कडा प्रतिस्पर्धा हुँदा हारजित जसको भएपनि थोरै मतान्तरको हुने विश्लेषण गरिएको छ । ओलीसँग स्थानीय भएको सुविधा छ, पटक पटक जितेका कारण देखाउनका लागि गरेका कामहरू भएपनि बालेनसँग युवा जोश जाँगर भएका कारण प्रतिस्पर्धा राम्रो हुने झापाली बुद्धिजीवीहरूको दाबी छ । सुरक्षा अंग मध्ये राष्ट्रिय अनुसन्धानको प्रारम्भिक रिपोर्ट ओलीको पक्षमा छैन । विभागले गृहमन्त्रालयलाई दिएको रिपोर्टमा कडा प्रतिस्पर्धाबाट बालेनको आगमन उल्लेख गरेको स्रोतको दाबी छ ।

सर्लाही ४ मा गगन भर्सेस अमरेश
बालेन साह प्रधानमन्त्री नबने आत्मदाह गर्छु भन्दै प्रपोगाण्डा फैलाएका रास्वपाका उम्मेदवार अमेरेश सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही ४ मा चुनौती दिइरहेका छन् । काठमाडौको क्षेत्र नं ४ छाडेर सर्लाही क्षेत्र नं ४ पुगेका सभापति थापालाई त्यहीका स्थानीयले चुनौती दिएका हुन् । काठमाडौँ ४ बाट लगातार तेस्रोपटक सांसद चुनिएका थापा चौथोपटकका लागि मधेस झरेका हुन् ।

थापा उठेको सर्लाही ४ नेपाली कांग्रेसको गढ मानिन्छ । २०४८ सालदेखि लगातार तीनपटक २०५६ सालसम्म यहाँ कांग्रेस उम्मेदवारले नै जितेका थिए । २०६४ सालमा भने कांग्रेसको गढ मधेसी जनअधिकार फोरमले खोस्यो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अमरेशकुमार सिंहले विरासत फर्काए । २०७० पछिका दुईवटा निर्वाचन लगातार जितेर कांग्रेसको विरासत जोगाएका सिंह २०७९ सालको चुनावमा भने कांग्रेसमा रहेनन् । कांग्रेसबाटै बागी बनेका सिंहले कांग्रेस उम्मेदवार नागेन्द्र राय यादवलाई पराजित गरेका थिए ।

रुकुम पूर्वः प्रचण्ड भर्सेस सन्दीप पुन
हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै जित्दै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक ‘प्रचण्ड’ यसपालि सुरक्षित स्थान खोज्दै रुकुमपूर्व पुगेका छन् । उनलाई यसपटक जनयुद्धका शहिदपुत्र सन्दीप पुनले चुनौती दिएका छन् । एमालेको समेत समर्थनमा पुनले प्रचण्डलाई चुनौती दिएका हुन् । संसदीय राजनीतिमा आएपछि प्रचण्डका लागि यो पाँचौँ निर्वाचन हो । संसदीय राजनीतिमा विरलै देख्न पाइने अभ्यास प्रचण्डले गरेका छन् । अर्थात् उनले हरेक निर्वाचनमा क्षेत्र बदल्दै आएका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्णबहादुर घर्ती विजयी भएका थिए । घर्तीले एमालेका कैलाशकुमार मल्ललाई ३ हजार ९४९ मतान्तरले पछि पार्दै चुनाव जितेका थिए । घर्तीले १२ हजार २६२ मत पाउँदा मल्लले ५ हजार २११ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत मात्रै प्राप्त गरेका थिए ।

रूकुम पूर्व प्रचण्डका लागि आधार इलाकाजस्तै हो । यसअघि भएका चारवटा निर्वाचनमा यहाँबाट लगातार माओवादीले जितेको थियो । यहाँ जनयुद्धको स्मृति अझै ताजा छ । धेरै परिवार प्रत्यक्ष रूपमा त्यस आन्दोलनसँग जोडिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ’जनयुद्ध’को आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर आफू यसपालि रुकुम पूर्व आएको बताउँदै आएको बताउँदै गर्दा पुनको चुनौतीमा प्रचण्ड मौन रहेका छन् । माओवादी आन्दोलनको केन्द्र रहेकाले रुकुमप्रति प्रचण्डको विश्वास छ तर, यसपटकको चुनाव त्यति सहज भने छैन । विगतमा अन्य क्षेत्रबाट संसद्मा पुगेका प्रचण्डका लागि रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचनमा उत्रिनु राजनीतिक रूपमा परीक्षणजस्तै बनेको छ ।

रौतहट १ः माधव भर्सेस अनिल
नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई यसपटक एमालेका अजकुमार गुप्ता र कांग्रेसमा अनिल झाले चुनौती दिएका छन् । ०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन जितेका नेपालले यसपटक पनि निर्वाचन लड्न रौतहट १ नै रोजेपछि उनलाई गुप्ता र झा चुनौती बनेका हुन् ।

गत निर्वाचनमा पनि रौतहट १ मा नेपालको प्रतिस्पर्धा एमाले नेता गुप्तासँगै भएको थियो । त्यतिबेला नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । गत निर्वाचनमा यो क्षेत्रबाट जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका थिए ।

रौतहट १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका सबै वडा तथा गढीमाई नगरपालिकाका ३ वटा र गरुडा नगरपालिकाका एउटासहित कुल ४१ वटा वडा पर्छन् ।

त्यसमध्ये, २०७९ सालको स्थानीय तह निर्वाचनमा २२ वटा वडामा हालको नेकपा, ९ वटा वडामा नेपाली कांग्रेस, ६ वटा वडामा जसपा नेपाल, ३ वटा वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए ।

जसले गर्दा नेपाललाई यसपटक अलि सहज रहेपनि कांग्रेसले अनिल झालाई उम्मेदवार बनाएपछि चुनौती थपिएको हो । त्यति मात्र होइन, बहुसंख्यक मतदाता रहेको गौर नगरपालिकाको नगर प्रमुख तथा उपप्रमुख, राजदेवी नगरपालिकाको नगर प्रमुख र उपप्रमुख, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसमेत नेपाल आबद्ध रहेकोले नेपालको स्थान सुरक्षित मानिन्छ ।

रवि लामिछानेलाई चुनौती
सहकारी ठगी आरोपमा देशका पाँच वटा अदालतमा मुद्धा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीत सहज भएपनि प्रश्नहरुको सामाना भने धेरै गर्नुपर्नेछ । रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएको चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने तेस्रोपटक उम्मेदबारी वारेस नामामार्फत दिदै गर्दा उनी सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइको लागि वीरगन्जमा रहेका थिए । जसले गर्दा वारेशनामा मार्फत उम्मेदवारी दर्ता गराउनु परेको पछिल्लो परिस्थितिमा प्रश्नहरुको सामाना गर्नुपर्ने अवस्था देखिएको छ ।

चितवन क्षेत्र नं. २ मा लामिछानेले तेस्रोपटक उम्मेदवारी दिएका हुन् । त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले नयाँ उम्मेदवारलाई मौका दिएका छन् । कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मिना खरेललाई उम्मेदवार बनाएको छ । कांग्रेसकै अन्य उम्मेदवार हुँदा असहयोग हुन सक्ने अवस्था रहे पनि खरेलका नाममा भने कांग्रेसभित्र एकता छ ।

भरतपुर महानगरपालिका वडा नं. ४ घर भएकी खरेल जिल्लामा परिचित छिन् । कांग्रेस उम्मेदवार खरेलले सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभवलाई राजनीतिक क्षेत्रमा जोडिएकी हुन् ।

एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेवार बनेका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका घिमिरे जनवादी गायक हुन् । अनेरास्ववियूको राजनीति गरेका घिमिरे आफ्नो क्षेत्रका युवाहरूलाई परेको बेलामा सहयोग गर्न उद्दत हुन्छन् ।

चितवन क्षेत्र नं. २ बाट यसअघि उम्मेदवार बनेका कृष्णभक्त पोखरेल र रामप्रसाद न्यौपाने उम्मेदवार बन्न तयार नभएपछि एमालेले युवा नेता घिमिरेलाई निर्वाचनमा उठाएको हो । घिमिरेले चितवन २ का भएका कारण पनि रविका लागि चुनौति बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरूङलाई उम्मेदबार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्