Logo
Logo

काठमाडौं प्लाजामा फस्यो नेपाल ट्रष्ट, २ करोड भन्दा धेरै घाटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ कात्तिक ।

नेपाल ट्रष्टकाे कार्यालयको सम्पत्ति रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजा विगत चार महिनादेखि ब्यापारीको कब्जामा छ । सम्झौता अवधि सकिएपछि पनि बिना भाडा व्यापारीले प्लाजा प्रयोग गर्दै आएका छन् ।


कन्सेप्ट डेभलपर्सले तत्कालिन राजपरिवारसँग लिजमा लिएर निर्माण गरेर सञ्चालन गर्दै आएकोमा २०६७ सालमा १० वर्षका लागि लिज अवधि थपिएको थियो । जून अवधि गत २ असारमा सम्झौता समाप्त भइसकेको छ । तर, पनि प्लाजा खाली हुन सकेको छैन । चार महिनादेखि ट्रष्टको कार्यालयले १ रुपैयाँ पनि भाडा पाउन सकेको छैन ।

भवन समयमै खाली गर्न नसक्दा दुई करोड भन्दा धेरै नोक्सान बेहोरेको छ । सम्झौता सकिएपछि मासिक ६० लाख ५० हजार रुपैयाँ भाडामा काठमाडौं महानगरपालिकालाई दिने सहमति भइसकेको थियो । तर, खाली गराउन नसक्दा सम्झौता हुन सकेको छैन । जसअनुसार चार महिनाको अवधिमा ट्रष्टले दुई करोड ४२ लाख रुपैयाँ गुमाएको छ, उता व्यापारी तथा विभिन्न कम्पनीले निशुल्क रुपमा कम्प्लेक्समा आफ्नो कार्यालय चलाउँदै आएका छन् ।

ट्रष्टले खाली गर्न पत्राचार गरेपछि कन्सेप्ट डेभलपर्सले आफुलाई नै लिजमा दिनुपर्ने भन्दै सर्वाेच्चमा रिट दायर गरेको थियो । गोकर्ण रिसोर्टको लिज अवधि थपिएजस्तै आफुहरुलाई पनि अवधि थप्नुपर्ने दाबी गरेको थियो । सुरुमा सर्वाेच्चले अन्तरिम आदेश दिएपनि पछि सो आदेशले निरन्तरता नपाएपछि भवन खाली गराउन बाटो खुलेको थियो । प्लाजामा व्यवसाय गर्ने केही व्यवसायीले पनि उच्च अदालत पाटनमा आफुहरुलाई हटाउन नहुने भन्दै रिट दायर गरेका छन् ।

सर्वाेच्चको आदेशले भवन खाली गर्न बाटो खुलेपछि व्यापारीले छाड्न मानेका छैनन् । नेपाल ट्रष्टको कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठ सो भवन खाली गराउने प्रक्रिया चलिरहेको बताए । ‘हामीले कम्पनीलाई २१ दिनको म्याद दिएर खाली गर्न पत्राचार गरेका थियौं, त्यो म्याद सकिएको छ,’ श्रेष्ठले भने,‘अब हामी कानूनी प्रक्रियामा अघि बढ्छौं, भवन खाली नहुँदा हामीलाई ठूलो घाटा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्