काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई समाजका खराब तत्त्वहरूको प्रतिरोध गर्न आफ्नो कर्तव्य सम्झन आग्रह गरेकी छन् ।

मङ्गलवार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उनले जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘कानुनको सम्मान गर्नुहोस्, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुहोस् र सकारात्मक सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्नुहोस् । समाजका असल र इमानदार पहलको प्रशंसा गर्न नहिच्किचाउनुहोस् ।’ खराब तत्त्वको प्रतिरोध गर्नु पनि तपाईँहरूको कर्तव्य हो ।’
उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन आह्वान गरिन् । कार्कीले भनिन्, ‘भाषा, संस्कृति, जाति, वेशभूषा र भूगोलको विविधतालाई सम्मान गर्दै ‘म नेपाली हुँ’ भन्ने साझा पहिचानलाई मन–मुटुमा बलियो बनाउनुहोस् ।’
राष्ट्रप्रेमलाई व्यवहारमा उतार्नुपर्ने जोड दिँदै प्रधानमन्त्रीले भनिन्, ‘राष्ट्रप्रेम भावनामा मात्र सीमित नराखी इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुनुहोस् ।’ युवा पुस्ताले नैतिकता, चरित्र र इमानदारीलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । उनले अल्पकालीन लाभभन्दा दीर्घकालीन मूल्यलाई महत्त्व दिँदै चरित्रवान र संस्कारयुक्त युवा आग्रह गरिन् । क्षमता विकासमा जोड दिँदै उनले शिक्षा, सीप र आत्मविकासमा निरन्तर लाग्न आग्रह गरिन् ।उनले भनिन्, ‘आफूलाई सक्षम नबनाई देशलाई केही दिन सकिँदैन । पढाइसँगै जीवनोपयोगी सीप, प्रविधि र नवप्रवर्तनमा रुचि राखेर आफूलाई प्रतिस्पर्धी बनाउनुहोस् ।’











