काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको परिचालन समितिको संयोजकका हैसियतमा उपसभापति विश्वप्रकाश शर्माले नेताहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएका छन् ।

समितिको कार्य सञ्चालनका क्रममा शर्माले केही नेताहरूलाई उनीहरूको जिम्मेवारी क्षेत्रको जिल्लामा विशेष भूमिका दिने निर्णय गरेका हुन्। महाधिवेशनमा सहभागी नहुने केही नेता पनि जिम्मेवारी पाएका छन्।
गत पुस २७ देखि ३० गतेसम्मको विशेष महाधिवेशनलाई १४ औँ महाधिवेशनमा सभापति निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले स्वीकार गरेका थिएनन् । यस विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ र आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा र कोइराला समूहका केही नेताहरूलाई उम्मेदवारको टिकट दिइएको थियो।
तर, यस निर्णयबाट सन्तुष्ट नभएका दुई समूहका केही नेतालाई उपसभापति शर्माले केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जिल्ला जिम्मेवारी दिएका छन् ।
समेटिएका नेताहरूमा देउवा नेतृत्वको कार्यसमितिमा रहेका पदाधिकारी र विशेष महाधिवेशनमा सहभागी नभएका केन्द्रीय सदस्यहरू छन् ।
ती नेताहरूमा भीष्मराज आङ्देम्बे, मीन विश्वकर्मा, उमेशजंग रायमाझी, जीपछिरिङ लामा, उर्मिला थपलिया, दिलमान पाख्रिन, धना खतिवडा, गेहेन्द्र गिरी, कृष्ण किशोर घिमिरे, चन्द्रबहादुर केसी, रुपा बिक, रंगमती शाही, मानबहादुर नेपाली, कान्तिक सेजुवाल, विद्यादेवी तिम्सिना, डा. रणबहादुर रावल, नृप वड लगायत छन् ।
आङ्देम्बे, विश्वकर्मा र रायमाझीलाई कोशी, थपलिया, लामा, नेपाली, पाख्रिन र खतिवडालाई बागमती, गिरी, घिमिरे, केसी र विकलाई लुम्बिनी, शाही, नेपाली र सेजुवाललाई कर्णाली, र तिम्सिना, रावल र वडलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको हो।











